ऊर्जामा लगानी गर्न युएईलाई आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न युएईका राजदूत सइद हमदान अल नक्वीलाई आग्रह गरेका छन् ।

युएईले सन २०१९ को जनवरीमा गर्न लागेको ऊर्जा सम्मेलनमा भाग लिन निम्तो दिन पुगेका राजदूत हमादनलाई मन्त्री पुनले सो अनुरोध गरेका हुन् । सिंहदरबारस्थित उर्जामन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसमा सहकार्यका लागि प्रस्ताव गरेका थिए । उनले लगानीको सुरक्षाका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न युएईका लगानीकर्तालाई सन्देश पु¥याइदिन आग्रह गरेका थिए ।

युएईले नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गर्दै आइरहेको राजदूतले भेटमा अवगत गराए । ऊर्जामा युएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गर्न राजदूतले आग्रह गरे । त्यसपछि युएईले लगानी प्रक्रिया अघि बढाउन सक्ने उनको भनाइ छ ।

भेटका क्रममा युएईले १ सय ७० देशको सहभागिता हुने गरी सम्मेलन गर्न लागेको राजदूतले जानकारी गराए । उक्त सम्मेलनमा प्रत्येक वर्ष नेपालले प्रतिनिधित्व गर्दै आएको छ । गतवर्ष तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले समेत उक्त सम्मेलनमा भाग लिएका थिए ।

मन्त्री पुनले पछिल्लो समय निजी क्षेत्र र विभिन्न देशका राजदूतहरूसँग नेपालमा लगानी गर्न आग्रह गर्दै आएका छन् । नेपालको जलविद्युत् क्षेत्रमा लगानीको लागी उपयुक्त अवसर भएको भन्दै उनले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्दै आएका छन् । मन्त्री पुनले लगानीको वातावरण सरकारले बनाउने भन्दै नेपालको विकासको लागि वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया