आइसिसीविरुद्ध अमेरिका आक्रोशित

हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीले आफ्ना नागरिकहरूमाथि मुद्दा चलाएमा अमेरिकाले ऊविरुद्ध नै प्रतिबन्धहरू लगाउने चेतावनी दिएको छ ।

आइसिसीले अफगानिस्तानमा बन्दीहरूलाई दुव्र्यवहार गरेको आरोपमा अमेरिकी सैनिकहरूलाई मुद्दा चलाउने तयारी गरिरहेको विवरणहरू बाहिर आएका छन् । तर, अमेरिकाले त्यस्को कडा आलोचना गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले जन बोल्टनले आइसिसी नै ‘अवैध’ भएको आरोप लगाउँदै अमेरिकाले आफ्ना नागरिकको सुरक्षा गर्न ‘जे पनि गर्नसक्ने’ बताएका छन् ।

अमेरिका सन् २००२ मा स्थापित आइसिसीको सदस्य होइन । बोल्टनले लामो समयदेखि आइसिसीको आलोचना गर्दै आएका छन् । गत वर्ष आइसिसीका एक अभियोजनकर्ता फातोउ बेन्सुओदाले अफगानिस्तानमा अमेरिकी सैनिक र गुप्तचर अधिकारी संलग्न भएको सम्भाव्य युद्ध अपराधको पूर्ण अनुसन्धान गर्न अनुरोध गरेका थिए ।

बोल्टनले त्यसविषयमा अफगानिस्तान र आइसिसीको रोम विधानले कुनै अनुरोध नगरेको बताए । उनले आफ्ना सैनिकहरूविरुद्ध अनुसन्धान गरेमा अमेरिकाले आइसिसीविरुद्ध नै प्रतिबन्धहरू लगाइदिने धम्की दिएका छन् ।

उनको भनाइमा अमेरिका आइसिसीका अधिकारीहरूविरुद्ध ‘आर्थिक प्रतिबन्ध, यात्रामा अवरोध र फौजदारी मुद्दा’ लगाउन तयार छ । अर्कोतिर गाजा र अधीनस्त वेस्ट बैंक क्षेत्रमा इजरायली सेनाले गरेको भनिएको युद्ध अपराधको छानबिन हुनु पर्ने प्यालेस्टिनी मागलाई पनि अमेरिकाले रुचाएको छैन ।

बोल्टनका अनुसार प्यालेस्टाइनको त्यहि अनुरोधका कारण उसको वासिंगटनस्थित नियोग बन्द गर्न आदेश दिइएको हो । प्यालेस्टाइनले अमेरिकी कदमको कडा आलोचना गरेको छ ।

प्रतिक्रिया