ट्रम्पलाई ओबामाको सुझाव

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय आर्थिक विकासको सम्पूर्ण श्रेय आफैँलाई दिई आफ्नो नीतिप्रति अत्याधिक गर्व व्यक्त गर्दै आइरहेका छन् ।

आधुनिक समयमा अमेरिकाले हालमा जस्तो आर्थिक वृद्धि कहिल्यै नदेखेको उनको भनाइ छ । तर, यसै विषयमा पूर्व राष्ट्रपति बाराक ओबामाले भने छुट्टै धारणा व्यक्त गर्दै नयाँ बहस सुरु गरेका हुन् । शुक्रबार लामो समयपछि यस विषयमा बोल्दै उनले ट्रम्पको लगातारको अभिमानप्रति असन्तुष्टि जनाएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

उनका अनुसार ट्रम्पले यति चाँडै सबै कुराको श्रेय लिनु कुनै पनि ढंगमा उचित होइन । ४४ र ४५औँ राष्ट्रपतिबीच आर्थिक विकासलाई लिएर सुरुवातदेखि नै प्रतिस्पर्धा भइरहेको पाइएको थियो ।

यस्तोमा ओबामाको सो अभिव्यक्तिसँग आक्रोशित हुँदै ट्रम्पले पनि कडा जवाफ दिएका हुन् । वास्तवमा चुनावसम्बन्धि एक अभियानमा सहभागी भएका ओबामाले शुक्रबारको भाषणमा यस्तो भनेका थिए , ‘रोजगारी लगायतका आर्थिक मुद्दामा देखिएको वृद्धिलाई अहिलेको सरकारले चमत्कार भनिरहेको छ । तर, वास्तवमा २०१५ र २०१६ मा पनि तथ्यांकले त्यही नतिजा देखाएको थियो । ’

ओबामाको यही भनाइपछि आक्रोशित हुँदै ट्रम्पले उनको कार्यकालमा अमेरिकी अर्थतन्त्र सबैभन्दा कमजोर रहेको आरोप लगाएका हुन् । यति मात्र नभएर उनले ट्विट गर्दै ओबामाले आफ्नो सफलताको श्रेय लिन खोजिरहनु शर्मनाम भएको समेत उल्लेख गरेका छन् । ओबामाले सबैलाई आशा मात्र देखाएको तर काम गरेर नतिजा ल्याउनमा भने आफ्नो योगदान बढी रहेको बताउँदै ट्रम्पले उनको तुलनामा आफू धेरै सफल राष्ट्रपति रहेको दाबी गरेका हुन् ।

वास्तवमा ट्रम्पले आगामी चुनावलाई ध्यानमा राख्दै आर्थिक वृद्धिलाई आफ्नो मुख्य हतियार बनाइरहको विपक्षीहरूको आरोप छ । विभिन्न अनैतिक काण्ड, विवादास्पद ट्विट, एफबिआइको अनुसन्धान, र कूटनीतिक विपत्तिमा फसिरहेका कारण पनि ट्रम्प विवादित राष्ट्रपति कहलिँदै आएका छन् । त्यसकारण पनि चुनाव नजिकिँदै गर्दा आर्थिक क्षेत्रलाई उनले बढी प्राथमिकता दिइरहेको बताइएको छ ।

प्रतिक्रिया