अग्नि नियन्त्रण गर्न ‘इलाइड फायर बल’

बुटवल ।  आगलागीका प्रकोपले हरेक वर्ष जनधनको क्षति हुने क्रम रोकिएको छैन । पसल, घर होस् वा आवास तथा उद्योग होस् वा सवारीसाधनमा अकस्मात आगलागी हुँदा त्यसले जनधनको क्षति पुगेका समाचारहरू हरेकजसो आइरहेका छन् ।

आगलागीजस्ता प्रकोपलाई रोक्नै नसकिए पनि त्यसबाट हुने क्षतिलाई भने अवश्य कम गर्न सकिन्छ । नयाँ–नयाँ प्रविधिको विकाससँगै आगलागीको क्षतिलाई कम गर्ने उपकरणहरू पनि आइसकेका छन् । यसै क्रममा आगालागीबाट हुने क्षतिलाई कम गर्न नेपालमा इलाइड फायर बल भित्रिएको छ ।

यो बल आगो लाग्ने सम्भावना भएको ठाउँमा राखेर दुर्घटनाको जोखिम पनि घटाउन सकिन्छ । बलमा आगोको तातो लाग्नसाथ ३ सेकेन्डमा बिस्फोट हुन्छ र आगो निभाउँछ । यो बल आगो लागेको ठाउँमा फालेर पनि आगो निभाउन सकिन्छ । यो बललाई मंगलबार बुटवलको तालिम केन्द्रमा परीक्षण गरिएको छ । दुई स्थानमा आगो लगाएपछि फालिएको फायर बलले पूर्ण रूपमा आगो नियन्त्रणमा लिएको थियो । जिपिएससमेत सेटप गरिएकाले यो बललाई सजिलै चलाउन सकिने को–इनर्जी प्रालि बुटवलका अध्यक्ष सुरज खरेलले बताए ।

तालिम केन्द्रमा आयोजना गरिएको कार्यक्रममा आन्तारिक मामिलामन्त्री, कुलप्रसाद केसी, उद्योग तथा पर्यटनमन्त्री लीला गिरीले इलाइट फायर बललाई आगोमा फालेर परीक्षण गरेका थिए ।

अमेरिकन टेक्नोलोजीमा थाइल्याण्डमा निर्माण भएको अन्तर्राष्ट्रिय गुणस्तरको एउटा बलले १२-१२ को बन्द कोठामा र ९-९ को खुला ठाउँमा लागेको आगो ९ सेकेन्डमै निभाउने कम्पनीको दाबी छ । १२ हजार पाँच सय मूल्य रहेको यो बलको आयु ६ वर्षको छ । प्रदेश सरकारले समेत फायर बल उपयोगी रहेको भन्दै दमकल र साँघुरो स्थान, अस्पताल, ठूला अपार्टमेन्टमा प्रयोग गर्न आग्रह गरेको छ ।

आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले समेत यसलाई उपयोग गर्ने र अरूलाई प्रयोग गर्न प्रेरित गर्ने बताए । खुला स्थानमा भन्दा पनि इनडोरमा यसको उपयोगिता रहेको भन्दै उनले यो प्रविधिको प्रयोगले क्षति न्यून हुने बताए ।

एक किलो तीन सय ग्रामको यो बल आगजनी हुने सम्भावनाका क्षेत्रमा राख्ने र त्यसमा आगोको तातो छोइएको तीन सेकेन्डमा विस्फोट भएर करिब नौ सेकेन्डमा त्यहाँको आगो निभाउन सक्ने क्षमताको रहेको छ । कार्यक्रममा कम्पनीका प्रबन्धक पवनराज जोशी, सशस्त्र प्रहरी बल प्रदेश नं. ५ का डिआइजी चिरञ्जीवी अधिकारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया