साैर्यकर्मी  बुढाथोकी सम्मानित

सल्यान । प्रतिनिधिसभाका सदस्य टेकबहादुर बस्नेतले पत्रकार देशको चौथो अंग भएकाले आफ्नाे इमानदारीसाथ कलम चलाउनुपर्ने बताएका छन् ।

पछिल्लो चरणमा पत्रकारिता राजनीतिमुखी र व्यावसायीकरण जस्तो देखिएकाले पत्रकारिताको इमानदारीलाई आत्मासाथ गर्दै गरिमा बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।

जिल्लाबाट प्रकाशन हुने एक मात्र पत्रिका कुमाख राष्ट्रिय साप्ताहिक खबर पत्रिकाको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले मिडिया र पत्रकारितालाई अब जिल्लाका १० वटै स्थानीय तहले साथ र सहकार्य गर्न जरुरी रहेको बताए । स्थानीय तह र मिडियालाई पारस्परिक सम्बन्धजस्तो बनाएर छलफलको वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘स्थानीय सरकार अब मिडियासँग नजिक भएर हेर्नुपर्छ, कुनै राजनीतिकमा कुनै आग्रह, पूर्वाग्रह नराखी बुझाइमा एकरूपता ल्याउनुपर्छ, जसका लागि मिडिया र जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरूबीच अन्तक्रिया गर्न जरुरी रहेको महसुस मैले गरेको छु ।’

समीक्षा कार्यक्रममा शारदा नगरपालिकाका उपमेयर सावित्रा बस्नेत, शिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, नेपाली कांग्रेसका जिल्ला उपसभापति निमबहादुर वली, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत धीरेन्द्र भण्डारी, पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, गैरसकारी संस्था महासंघका अध्यक्ष दीपेन्द्र डिसी लगायतले कार्यक्रममा बोल्दै जिल्लाको मिडियालाई सबै मिलेर अगाडि बढाउनुपर्ने बताएका थिए ।

कुमाख राष्ट्रिय साप्ताहिक खबरपत्रिकाका सम्पादक गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा पत्रकारिता क्षेत्रमा कृयाशील रही महत्वपूर्ण योगदान पु¥याएको भन्दै सौर्य संवाददाता मीना बुढाथोकीलगायत अन्य चारजना पत्रकारलाई सम्मान गरिएको छ । कुमाख राष्ट्रिय साप्ताहिक पत्रिका २०७४ फागुन १३ गतेदेखि जिल्लामा प्राकाशन हुँदै आएको छ ।

प्रतिक्रिया