‘यौनकर्मीलाई कार्ड दिएर कर उठाऔँ’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मी व्यवसायीलाई कार्डको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

होटल संघ नेपालले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौन व्यवसायलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने बताए । ‘किन रेडलाइट एरिया खोल्नुपर्यो,’ उनले भने, ‘रेडलाइट नखुल्ने हो भने कार्डहोल्डरको परिचयपत्र दिनुपर्यो ।’ उनले यौनकर्मीलाई परिचय पत्र दिएपछि कर उठाउने व्यवस्था गनुपर्ने बताए ।

लुकीछिपी गर्ने व्यवसायलाई सरकारले करको दायरामा ल्याउनसके थप व्यवस्थित हुने उनको भनाइ छ । ‘सरकारले कडाइ गरे पनि भित्रभित्रै चलिरहेकै छ । कि रेड एरिया भनेर छुट्याउनु पर्यो, नभए कार्ड होल्डर हुनुपर्यो’, उनी भन्छन्, ‘होटलवालालाई समातेर लग्यो पैसा तिर्नुपरो अर्कोलाई समातेर लग्यो पैसा तिर्नुपर्यो । कार्डको व्यवस्था गरिदिए ढुक्कै ।’

लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको भन्दै उनले यौनकर्मीलाई कार्ड दिएर सरकारले कर उठाउनुपर्ने बताए । ‘कार्ड दिउँ होटलमा प्रवेश गर्दा कार्ड देखाएर छिर्छ । कार्ड भएपछि पुलिसले पनि समात्न सक्दैन, उनले थपे–लुकेर धन्दा गर्दा न लुक्नेलाई फाइदा छ न समाजलाई । कार्ड दिउँ र अलिअलि कर लिउँ ।’

सबै पक्षलाई फाइदा हुने भन्दै उनले खुला रूपले छलफल गर्नुपर्ने बताए । होटल संघले पोखरामा आयोजना गरेको ‘नेपालको पर्यटकीय राजधानी पोखरा तथा दक्षिण एसियाको पर्यटन प्रवेशद्वार’ विषयक अन्तरक्रियामा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको मुख्य सम्भावना पर्यटन भएको भन्दै त्यसका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने बताए ।

‘पोखराका डाँडाहरूमा पर्यटकीय होटलहरू थपौँ । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि स्याटलाइट ठाउँहरू पनि चाहिन्छ । यतै क्यासिनो खोलौँ र धनीहरूलाई प्रदेशमा भित्र्याउँ, उनले भने, धेरै मुलुकहरूको इकोनोमी नै यसरी चलेको छ । पोखरालाई २४ घण्टा खुला गरौँ ।’ गुरुङले प्रदेशको गुरुयोजना निर्माणको काम चलिरहेको जानकारी दिए ।

कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया