पुल अधुरै छोडेर ठेकेदार सम्पर्कविहीन

झापा । आठ वर्षअघि झापा धाइजनको हडिया खोलामा दुई किलोमिटर वरपर एकैपटक दुइटा पुल निर्माण सुरु भए । एउटा पुलले तत्कालीन धाइजन–२ (मेचीनगर–११) मंगलीबाट धुलाबारी जोड्छ र अर्को पुलले पनि धाइजन–३ र ४ (मेचीनगर–१२) लाई धुलाबारी नै जोड्छ ।
सँगै सुरु भएका यी पुलमध्ये मेचीनगर–११ मंगलीको पुल निर्माण सम्पन्न भई आउजाउ खुला गरेकै तीन वर्ष बित्यो ।

तर, सँगै सुरु भएको अर्को पुल भने आधाकल्चो छाडेर ठेकेदार सम्पर्कविहीन बनेको आरोप स्थानीयको छ । दुवै पुलको ठेक्का लामा–मैनाचुलीले संयुक्त रूपमा लिएको थियो । निर्माण अलपत्र रहेको पुलको कुल लागत स्टिमेट ५ करोड ८७ लाख ५३ हजार हो । निर्माण सकिसकेको पुलको लागत ५ करोड ६४ लाख ३३ हजार हो । निर्माणाधीन पुल आव ०६५-६६ मा राष्ट्रिय योजना आयोगको रातो किताबमा परेको योजना हो । अर्को पुलचाहिँ संसदीय योजनाअन्तर्गत निर्माण भएको हो ।

स्थानीय खगेन्द्र विष्टका अनुसार ठेकेदार मदन अधिकारीले बीचमा दुवै पुल निर्माणका लागि खगेन्द्र पौडेल नामका अर्का ठेकेदारलाई ‘पेटी ठेक्का’ मा निर्माण जिम्मा दिएर सम्पर्क बाहिर बसेका थिए । राजनीतिक दलका नेताहरूको चर्को दबाबपछि मंगलीको पुल चाँडै निर्माण गरी पौडेलले हस्तान्तरण गरे ।

तर, अर्को पुल निर्माणबाट भने उनी पन्छिए । ‘पौडेल पन्छिएपछि बाध्य भएर अधिकारीले निर्माण जिम्मा लिएका हुन्’, विष्टले भने, ‘जिम्मा त लिए तर यत्रो समय बितिसक्यो आधाकल्चो छाडेर हिँडेका छन् ।’ उनले ठेकेदारलाई बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्कमै आउन नचाहेको बताए ।

गतवर्ष तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्री रमेश लेखक सहितको एउटा टोलीले पुल निर्माणस्थलको अवलोकनका क्रममा ठेकेदार अधिकारीले वर्ष दिनभित्र जुनसुकै हालतमा पुलको काम सकेर जनतालाई हस्तान्तरण गर्ने जनाएका थिए । उनले सार्वजनिक रूपमै भनेका थिए, ‘अब स्थानीयले हडिया पुल तर्दा जुत्ता, चप्पल खोल्नुपर्दैन ।’ तर, अहिलेसम्म पुलको आधा काम पनि सकिएको छैन ।

ठेकेदार अधिकारीले सय मिटर लामो पुलका चार मध्ये दुइटा पिलर र स्ल्याबको काम सकिसकेका कारण यो वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरे । उनले मेसिनको सहयोगबाट भासिएको पिलरलाई व्यवस्थित गर्न केही समय लाग्ने बताए ।

स्थानीय जितलाल मेचेले पुल बन्ने आशाभन्दा पनि बिस्तारै निराशा बढ्न थालेको गुनासो राखे । मेचेले भने, ‘७-८ वर्षमा एउटा सय मिटरको पुल बन्न सक्दैन हामीले के आशा गर्नु ।’ पुल नहुँदा वर्षायाममा यहाँका सर्वसाधारण जोखिम मोलेर खोला तर्न बाध्य हुन्छन् ।

कामको सिलसिलामा वारिपारि गर्नुपर्ने बाध्यता स्थानीयको छ । डिभिजन सडक कार्यालय दमकका इन्जिनियर राजेशकुमार यादवले पुल निर्माण अलपत्र छाडेर बेपत्ता रहेका ठेकेदार पटकपटकको ताकेदापछि सम्पर्कमा आइसकेको बताउँदै एक वर्षभित्र काम सक्ने सम्झौता भएको बताए । तर, यो वर्ष पुल निर्माण सकिने सम्भावना ज्यादै न्यून छ ।

प्रतिक्रिया