व्यवसायीको अपहरणपछि हत्या

झापा । झापामा कपडा व्यवसाय गर्दै आएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ । कमल गाउँपालिका–६ मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार हत्या गरी फालिएको पौडेलको शव गौरीगञ्ज गाउँपालिका–६ बाह्रदसीस्थित विनोद यादवको खेत नजिकै रहेको नालामा मंगलबार बिहान भेटिएको हो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ ।

घटनास्थलमा उनको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल फोन र व्यागसमेत फेला परेको छ । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा गौरीगञ्जका सद्धाम हुसेनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सोमबार बेलुका पौडेल र उनकी पत्नी पसलको उधारो रकम उठाउन गौरीगञ्ज बजार पुगेका थिए ।

करिब ६ बजे पौडेलले पत्नीलाई खाजा पसलमा छाडेर मोटरसाइकलमा सद्धाम हुसेनलाई सँगै लिएर उधारो रकम उठाउन गएका थिए । सद्धामसँग ९० हजार रुपैयाँ उठाउनु रहेकाले गौरीगञ्ज गएको पौडेलकी पत्नीले बताएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

सद्धामसँग गएका पौडेल राती अबेरसम्म नफर्किएपछि उनी अपहरणमा परेको भन्दै पत्नीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराएकी थिइन् । अपहरणमा परेको सूचना पाएलगतै प्रहरीले उनको खोजतलास सुरु गरे पनि हत्या गरिएको अवस्थामा मंगलबार बिहान मात्र फेला पारेको बस्नेतले बताए ।

प्रतिक्रिया