ग्रामीण सडकको यात्रा अनिश्चित

बैतडी । विगत तीन वर्षयता बैतडीका अधिकांश ग्रामीण क्षेत्रलाई पनि सडक सञ्जालले छोएको छ । तर, प्राविधिक नाप जाँचविना धमाधम खनिएका सडक हिउँदमा मात्र सञ्चालन हुने गरेका छन् । ग्रामीण क्षेत्रमा खनिएका सडकहरू वर्षायाममा यात्रा गर्न लायक रहने गरेका छैनन् ।

पाटन पश्चेश्वर सडक, ढोल्यामोडदेखि हाट जाने सडक खण्डमा अहिले यात्रा गर्न साह्रै समस्या हुने गरेको स्थानीयवासीको गुनासो रहेको छ । पाटन पञ्चेश्वर सडक चार वर्ष अगाडि खनिएको उक्त सडकमा वर्षातमा गाडी उक्लिनै मुस्किल हुन्छ ।

वर्षातको समयमा यात्रुलाई सो सडक हुँदै गन्तव्यमा पुग्न दुई दिन लाग्छ । हुन त सो सडक हिउँदमा केवल ६ घण्टामा पुग्न सकिन्छ, तर अहिले सोही बाटोको यात्रा गर्न कम्तीमा पनि दुई दिन लाग्ने गरेको छ । जिल्लाका अधिकांश ग्रामीण सडकहरूकोे अवस्था यस्तै नै रहेको स्थानीयले बताएका छन् । कतिपयमा त सवारी नै चल्दैनन् । यी सडकमा सवारी चलाउने यात्रु र चालकले दिनहुँ सास्ती भोग्नुपरेको छ ।

जुन स्थानीय तहको सिमानाभित्र सडक हिलो भएको हुन्छ त्यस ठाउँको सडक कसरी सुचारु गर्ने भन्ने सोही स्थानीय तहले जिम्मा लिनुपर्ने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको भनाइ छ । अध्यक्ष चन्दले भने, ‘सडक सुचारु गर्न प्रत्येक सडकमा काम गर्ने कर्मचारी राखेका छाैँ, उनीहरूले दिनुहुँजस्तो सडकको काम गर्ने हुनाले हाम्रो गाउँपालिकाभित्रका कुनै सडक अवरुद्ध छैनन्,’ उनले भने, ‘मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले आप्mनो सिमाना भित्रका सडक व्यवस्थापन गर्न नसकेकाले पाटन पञ्चेश्वर सडकमा गाडी गुड्न समस्या भएको हो ।’ पञ्चेश्वरमा रहेका सडक भने अहिले २४सै घण्टा सुचारु रहेका छन् ।

पाटन पञ्चेश्वर सडकले पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ नगरपालिका र पञ्चेश्वर गाउँपालिकालाई छोएको छ । यो सडक सुरुमा केन्द्रीय सरकारले निर्माण गरिरहेको थियो भने अहिले प्रदेशको जिम्मा लगाएको छ । यो सडक पञ्चेश्वर बहुउद्देश्य आयोजनास्थलसम्म पुग्ने हुनाले यसको नाम पाटन पञ्चेश्वर सडक राखिएको हो । यो सडकले छोएका स्थानीय तहले यसैबाट अन्य शाखा सडक निर्माण गरेका छन् ।

केही सडकहरू विगतमा पनि उपभोक्ताको मनोमानीमा खनिए भने, केही वडा, गाउँपालिका र नगरपालिकाको सहयोगमा खनिएका छन् । ती सडकमा कुनै प्राविधिक मूल्यांकन भएको छैन । सडक खनिएपछि मात्रै भुक्तानीका लागि हुने प्राविधिक नामजाँच र सम्बन्धित ठाउँमा नगईकनै कार्यालयबाट हुने सडक सर्भेले यस्तो समस्या उत्पन्न भएको स्थानीयको आरोप छ । गाउँमा सडकले स्थानीयलाई राहत त भयो, तर वर्षातको समयमा सास्ती पनि उत्तिक्कै रहने गरेको छ ।

प्रतिक्रिया