रातो पासपोर्ट दुरुपयोग नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न सांसदहरूलाई पुनः आग्रह गरेको छ । सांसदहरूले व्यक्तिगत रूपमा समेत कूटनीतिक राहदानी प्रयोग गरिरहेको पाएपछि सरकारी कामकाजका लागि मात्रै प्रयोग गर्न आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदहरूलाई समितिको बैठकमै आग्रह गरेका छन् । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै उनले कूटनीतिक राहदानी दुरुपयोग भएको विगतको अनुभवलाई ध्यानमा राखेर विधेयकमा सरकारी प्रयोजनका लागि सांसदहरूले कूटनीतिक राहदानी प्रयोग गर्न पाउने प्रावधान राखिएको पनि स्पष्ट पारे ।

सचिव बैरागीले कूटनीतिक राहदानी सांसदहरूले दुरुपयोग गरेको घटना अन्य देशमा सांसदहरू पुगेपछि आउने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्ने दायित्व राज्यको रहेको पनि स्पष्ट पारे । सार्वजनिक पदधारण गरेका व्यक्तिहरूलाई कूटनीतिक राहदानी प्रयोगमा विभेद भने नगरिएको दाबी उनले बैठकमा राखे ।

बैठकमा समितिका सदस्यहरूले सांसदहरूलाई अप्ठयारो पार्ने गरी कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था नगर्न सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य अग्निप्रसाद सापकोटाले कूटनीतिक राहदानी जनताका प्रतिनिधिहरूलाई स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउने व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले जनताको विश्वास जितेर आएका जनप्रतिनिधिहरूलाई राहदानी दिन सरकारको अनुमति लिनुपर्ने व्यवस्था गर्न नहुने तर्क पनि गरे । समितिका सदस्य दिव्यमणि राजभण्डारीले सांसदहरूलाई सहज ढंगले कूटनीतिक राहदानी दिने व्यवस्था गर्न माग गरे ।

विधेयकमा सांसदहरूले कूटनीतिक राहदानी प्रयोग गर्दा सरकारको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । कूटनीतिक राहदानी दुरुपयोग हुन नदिन सांसदहरूलाई पनि अनुमति लिएर मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न पाउने कानुनी व्यवस्था गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया