नारायणी नदी प्रदूषणको चपेटामा

चितवन । प्राकृतिक स्रोतलाई गम्भीर असर पार्ने गरी भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापनमा लापरबाही गर्दै आएको छ ।

सरकारले पानीको स्रोतमा फोहोर फाल्न प्रतिबन्ध लगाए पनि नियमलाई अटेर गरेर महानगरले नारायणी नदीमा फोहोर फाल्दै आएको हो ।
नगर क्षेत्रबाट उत्पादन हुने फोहोरलाई नारायणी नदी किनारमा लगेर मिल्काउँदा यो क्षेत्र वरपर गम्भीर असर परेको वातावरणविद्ले जनाएका छन् ।

महानगरको यो गम्भीर गल्तीले नदीमा ठूलो प्रदूषणको खतरा बढेको सरोकारवालाहरूको चिन्ता छ । दैनिक उत्पादन हुने ६० देखि ६५ टन फोहोरलाई नदी किनारमा लगेर व्यवस्थापन गरिएको महानगरपालिका स्रोतले जनायो ।

ल्यान्डफिल्ड साइटको व्यवस्था नहुँदा नदीमै फोहोर फाल्नुपरेको महानगरका अधिकारीहरूको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले नगर क्षेत्रबाट उत्पादन हुने फोहोरलाई नदी किनारमा ड्यामको रूपमा प्रयोग गरिएको बताए । महानगरभित्र उत्पादन भएको फोहोरलाई अफूहरूले नदी किनारमा लगेर फाल्ने गरेको उनले सुनाए ।

महानगरले हालसम्म ल्यान्डफिल्ड साइट बनाउन सकेको छैन । नदीमा फोहोर फाल्न हुँदैन भन्ने महानगरले अहिलेसम्म हेक्का राखेको छैन । विभिन्न दातृ संस्थाहरूसँग पहल गरेर फोहोर व्यवस्थापन गर्ने तयारी भइरहेको महानगरको भनाइ छ ।

महानगर प्रमुख रेणु दाहालले स्थानीयको अवरोधका कारण भरतपुर–१ आँपटारीमा रहेको जलदेवी सामुदायिक वनको जमिनमा ल्यान्डफिल साइट निर्माण गर्न नसकिएको बताइन् । वनको २५ बिघा क्षेत्रफलमा व्यवस्थित ल्यान्डफिल निर्माण गर्नका लागि वनसँग सम्झौता भएको, तर स्थानीयको अवरोधले निर्माण हुन नसकेको दाहालको भनाइ छ ।

‘महानगरपालिकाभित्र उत्पादन भएको फोहोरलाई हामीले नगर क्षेत्रभित्र नै व्यवस्थापन गर्नुपर्छ’ दाहालले भनिन्, ‘हामीले निर्माण गर्ने भनेको ल्यान्डफिल साइटमा फोहोरहरूको वर्गीकरण राख्नेछौँ र त्यहाँबाट दुर्गन्ध बाहिर फैलिँदैन ।’

महानगरपालिकाभित्र फोहोरबाट ऊर्जा निर्माण गर्ने नमुना प्लान्टको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग कुरा भइरहेको उल्लेख गर्दै नगर प्रमुख दाहालले यसका लागि कोरियन संस्थासमेत सहकार्य गर्न तयार रहेको बताइन् । कोरियन प्रतिनिधिहरू केही दिनभित्रै फोहोरबाट ऊर्जा कार्यक्रमका लागि सम्झौता गर्न भरतपुर आउने तयारी गरेको दाहालले जानकारी दिइन् ।

महानगरपालिकालाई वातारणमैत्री महानगर बनाउनका लागि तयारी थालेको उल्लेख गर्दै दाहालले कुहिने फोहोरहरूलाई नगरवासीले घरमै व्यवस्थापन गर्न सकेमा अभियानले सार्थकता पाउने बताइन् । भरतपुरलाई वातावरणमैत्री महानगर बनाउने तयारीस्वरूप नीति तथा कार्यक्रम नै पारित गरेको अवस्थामा महानगरको कार्यक्रमलाई सबैले साथ दिनुपर्ने दाहालको भनाइ छ । २९ वटा वडा रहेको भरतपुरमा हालसम्म वडा नम्बर ७, ११ र २७ मात्रै वातावरणमैत्री वडा घोषणा भएका छन् ।

प्रतिक्रिया