मृतकलाई धमाधम वृद्धभत्ता

रौतहट । माधवनारायण नगरपालिकामा सरकारले वृद्धवृद्धालाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताको रकम मृत्यु भइसकेका व्यक्तिलाई वितरण गरिएको खुलासा भएको छ ।

वडा नम्बर ६ मा वडाध्यक्ष राजीवकुमार झा र वडा सचिव मनोजकुमार झाको मिलेमतोमा सामाजिक सुरक्षा भत्ता बापतको ९ लाख ७७ हजार ६ सय रुपैयाँ मरेका व्यक्तिका नाममा गएको छ । अध्यक्ष र सचिवले मृत्यु भएका व्यक्तिका नाममा रकम निकालेका हुन् । उनीहरूले मृत्यु भएका ४० जनाभन्दा बढी व्यक्तिका नाममा भत्ता बाँडेको रहस्य खुलेको हो ।

मृत्यु भइसकेका चार दर्जनभन्दा बढी व्यक्तिको नाममा भत्ता रकम निकासा गरेर वडाध्यक्षले भ्रष्टाचार गरेका छन्

वर्षौं पहिले नै मृत्यु भइसकेका व्यक्तिका नाममा वडा कार्यालयले यसपटकसमेत भत्ता बाँडेको हो । ०७० सालमै मृत्यु भएका पञ्चलाल साह तेलीको नाममा अहिलेसम्म सामाजिक सुरक्षा भत्ता बाँडिएको पाइएको छ । पहिले नै मृत्यु भएका विन्दा महतो, बुझावन गिरी, योगेन्द्र महतो, माधुरी देवी, राधा बैठालगायत ५० भन्दा बढी मृतकले रकम बुझेको भरपाइ वडा कार्यालयले राखेको छ ।

मृतकका नाममा बाँडिएको रकम सम्बन्धित परिवारजनले समेत बुझेका छैनन् । मृत्युदर्ता प्रमाणपत्र बनाइसकेपछि परिवारजनका कुनै सदस्यले भत्ता नबुझेका र किर्ते हस्ताक्षर गरेर सचिव तथा जनप्रतिनिधिले रकम हिनामिना गरेको स्थानीय रामजीप्रसाद यादवको आरोप छ । यादवले भने, ‘मृत्यु भइसकेका चार दर्जनभन्दा बढी व्यक्तिको नाममा भत्ता रकम निकासा गरेर वडाध्यक्षले भ्रष्टाचार गरेका छन् ।’

किर्ते हस्ताक्षर गरेर मृत्यु भएकाको नाममा रकम निकालिएको बताइएको छ । किर्ते हस्ताक्षर गरेर वडाध्यक्ष यादवले सबै रकम हिनामिना गरेका भन्दै जिल्ला प्रशासन कार्यालयमा स्थानीयले उजुरी दिएका छन् । दलित बालबालिकाका लागि आउने बालपोषण भत्तामा समेत वडाध्यक्षले भ्रष्टाचार गरेको स्थानीयको आरोप छ ।

सम्बन्धमा वडाध्यक्ष राजीवकुमार यादवले आफूले कुनै किसिमको अनियमितता नगरेको र पुरानै तथ्यांकका आधारमा भत्ता बाँडिएको दाबी गरेका छन् । ‘नगरपालिका कार्यालयले उपलब्ध गराएको तथ्यांकको आधारमा हामीले भत्ता वितरण गरेका हौँ । वडाध्यक्षका रूपमा निर्वाचित हुनुभन्दा पहिले नै बनेको तथ्यांककै आधारमा भत्ता बाँडिएको हो,’ उनले भने । वडाध्यक्ष यादवले नगरपालिकाको गलत तथ्यांकका कारण वडा कार्यालयबाट बाँडिएको भत्तामा गल्ती भएको बताएका छन् ।

नगरपालिकाका मेयर वीरेन्द्र यादवले भने घटनाको सम्बन्धमा केन्द्रीय पञ्जीकरण विभागले अनुसन्धान गरिरहेको र विभागको एक टोलीले वडाध्यक्षलगायत धेरै स्थानीयसँग घटनाका सम्बन्धमा सोधपुछ गरेको बताएका छन् । ‘भत्ता वितरणमा गडबडी भएको देखिएको छ । कार्यालयले पनि सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ,’ मेयर यादवले भने, ‘मृत्यु भएका व्यक्तिको नाममा कसले रकम बुझेका छन्, त्यो भरपाइ हेरेर अनुसन्धान हुन्छ ।’

केन्द्रीय पञ्जीकरण विभागले माधवनारायण नगरपालिकामा भएको सामाजिक सुरक्षा भत्ता हिनामिना सम्बन्धमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचारसमेत गरेको छ ।

प्रतिक्रिया