विश्वविजेता फ्रान्सद्वारा नेदरल्यान्ड पराजित

पेरिस । युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा विश्व च्याम्पियन फ्रान्सले नेदरल्यान्डलाई पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले नेदरल्यान्डलाई २—१ गोलअन्तरले पराजित गरेको हो । समूह ‘ए वान’ को खेलमा फ्रान्सको जितमा केलियन एम्बाप्पे र ओलिभर जिरुडले गोल गरेका थिए ।

फ्रान्सले युवा स्टार किलियन एम्बाप्पेको १४औँ मिनेटको गोलसँगै खेलमा सुरुआती अग्रता लिएको थियो । उनले ब्लेस माटुइडीको पासमा गोल गरेका थिए । दोस्रो हाफमा रायन बाबेलले गोल गर्दै खेल बराबरीमा ल्याए ।

उनले ६७औँ मिनेटमा केनी टेटेको पासको सदुपयोग गर्दै हार टार्ने प्रयास गरेका थिए । तर, ८ मिनेटपछि ओलिभिएर जिरुडले गोल गर्दै फ्रान्सलाई पुनः अग्रता दिलाए । विश्वकप अवधिभर गोल गर्न नसकेका जिरुडले बेन्जामिन मेन्डीको पासमा गोल गरेका थिए ।

यस गोलसँगै जिरुडले अन्तर्राष्ट्रिय गोल संख्यामा फ्रान्सका पूर्वकप्तान जिनेदिन जिदानलाई पनि पछाडि पारेका छन् । उनले ३१औँ गोल गर्ने क्रममा ८ सय मिनेट लामो गोलको खडेरी पनि तोडे ।

चेल्सीबाट व्यावसायिक फुटबल खेलेका जिरुडले टोलीलाई नेसन्स लिगमा ३ अंक दिलाए । दुवै टोलीले आफ्नो पहिलो रोजाइका खेलाडीलाई मैदान उतारेका थिए । अन्य खेलमा डेनमार्कले वेस्सलाई २—० गोलले पराजित गरेको छ । युक्रेनले स्लोभाकियालाई १—०, बुल्गेरियाले नर्वेलाई १—० र जर्जियाले लाट्भियालाई पनि १—० ले पराजित गरेका छन् ।

प्रतिक्रिया