काठमाडौं महानगरद्वारा ‘ए डिभिजन’ क्लबलाई सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६ वटा ‘ए डिभिजन’ फुटबल क्लबलाई करिब ५६ लाख आर्थिक सहयोग गरेको छ । झन्डै पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए डिभिजन’ लिगलाई मध्यनगर गर्दै महानगरले नगरभित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई उक्त रकम दिएको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम हस्तान्तरण गरे । प्रत्येक क्लबलाई ९ लाख ३० हजारका दरले रकम हस्तान्तरण गरिएको हो । सोमबार एक कार्यक्रममा महानगरले क्लबहरूसँग सम्झौतापत्रमा हस्ताक्षर पनि गरेको छ । सम्झौताअनुसार, महानगरले क्लबहरूलाई ५ लाख नगद र ५ लाख बराबरको खेल सामग्री उपलब्ध गराउनेछ ।

ए डिभिजन लिग १३ असोजमा सुरु हुँदै छ । महानगरपालिकाभित्र सिएमजी क्लब संकटा, न्युरोड टिम (एनआरटी), मच्छिन्द्र क्लब, लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लब, सरस्वती युवा क्लब र हिमालयन शेर्पा ए डिभिजन क्लब छन् ।

ए डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, च्यासल युवा क्लब, फ्रेन्डस क्लब, ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

कामपा प्रमुख शाक्यले सबैभन्दा लोकप्रिय खेल फुटबलको विकास र वृद्धिका लगि कामपाले सानो सहयोग गरेको बताउँदै क्लबहरूले उत्कृष्ट खेल खेलेमा आगामी दिनमा रकम थप्दै जाने विश्वास दिलाए ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रको विकासका लागि यो कोसेढुंगा भएको जिकिर गरे । मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष कान्छा मुखिया गुरुङले पछिल्लो समय क्लबहरूलाई नियमित रूपमा खेल सञ्चालन गर्न आर्थिक रूपमा नै कठिन हुँदै गएकाले कामपाको सहयोगले केही टेवा पुग्ने बताए । कार्यक्रममा कामपाले प्रत्येक क्लबलाई फुटबल खेल्दा लगाइने पोसाक पनि वितरण गरेको थियो ।

प्रतिक्रिया