जोकोभिचको १४औँ उपाधि

न्युयोर्क । सर्बियन नोभाक जोकोभिच युएस ओपन टेनिसको उपाधि जित्न सफल भएका छन् । जितसँगै जोकोभिचले अमेरिकी खेलाडी प्रिट साम्प्राससँग १४औँ पटक ग्रान्डस्लाम उपाधि जित्ने बराबरी गरेका छन् ।

न्युयोर्कमा भएको खेलमा अर्जेन्टिनाका आन मार्टिन डेल पोत्रालाई हराउँदै सर्बियाका जोकोभिचले उपाधि जितेका हुन् । छैटौँ वरीयताका ३१ वर्षे जोकोभिचले तेस्रो वरीयताका डेल पोत्रोलाई ६–३, ७–६ (७–४) र ६–३ को सेटमा हराए । जोकोभिचले आफ्नो खेल जीवनमा अहिलेसम्म योसहित १४ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् ।

जोकोेभिचले योसँगै तेस्रोपटक युएस ओपनको उपाधि जितेका हुन् । यसअघि, उनले सन् २०११ र २०१५ मा युएस ओपनको उपाधि जितेका थिए ।

जोकोभिचले यसअघि गएको जुलाईमा विम्बल्डन टेनिसको उपाधि जितेका थिए । लगातार ग्रान्डस्लाम उपाधि जितेका जोकोभिच अब विश्ववरीयतामा चौथो स्थानमा उक्लिनेछन् ।

जोकोभिचले भन्दा धेरै ग्रान्डस्लाम जित्ने दुईजना मात्रै छन् । रोजर फेडेररले २० तथा राफायल नाडालले १७ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् । २९ वर्षका डेल पोत्रोले सन् २००९ मा युएस ओपनको उपाधि जितेपछि पहिलोपटक ग्रान्डस्लामको फाइनल खेलेका हुन् ।

प्रतिक्रिया