लय समाउँदै नेपाली फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली अहिले आफ्नो गिर्दो साख जोगाउँदै अगाडि बढ्न खोजिरहेको छ । लगातार हार वा बराबरीमा रोकिँदै आएको नेपाल पछिल्लोपटक भने साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेपछि पुनः एकपटक चर्चामा आएको छ । त्यसको कारण हो, नेपालले समूह चरणमा बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदै सेमिफाइनलमा पुग्नु ।

नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल पुग्नै पाँच वर्ष कुर्नुप¥यो भने जित निकाल्न पनि २२ महिना लाग्यो । तर, अहिले टोलीले कुनै पनि प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएको छ ।

जारी प्रतियोगितामा नेपालले सात गोल गरिसकेको छ । यसअघि नेपालले एउटै प्रतियोगितामा यति धेरै गोल गर्न सकेको थिएन । नेपालले अहिलेसम्म जित्न नसकेको यो प्रतियोगिताको फाइनल प्रवेशका लागि बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई हराउन सकेको छैन ।

नेपालका लागि माल्दिभ्स पुरानो प्रतिद्वन्द्वी पनि हो । सुरुआती वर्षमा नेपालले माल्दिभ्सलाई सजिलै हराउने गरे पनि पछिल्लो समय भने माल्दिभ्स नेपालमाथि हाबी हुँदै आएको छ । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले अहिलेसम्म माल्दिभ्सविरुद्ध खेलेका ६ मध्ये कुनै पनि खेलमा जित निकाल्न सकेको छैन ।

त्यसमध्ये, नेपाल ४ खेलमा पराजित छ भने २ खेल बराबरीमा टुंगिएको छ । त्यसैले, नेपालले बुधबार अपराह्न नेपाली समयअनुसार पौने चार बजे हुने खेलमा माल्दिभ्सलाई कमजोर नआक्ने स्पष्ट पारेको छ ।

नेपाली राष्ट्रिय टिमका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नआक्ने बताएका हुन् । ढाकामा सोमबार पत्रकारसँगको कुराकानीका क्रममा उनले माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीको रूपमा नलिइएको बताएका हुन् ।

‘माल्दिभ्स कमजोर प्रतिद्वन्द्वी हैन । सेमिफाइनलमा पुगेको टोलीलाई कमजोर भन्न मिल्दैन । हामीले माल्दिभ्सको दुई खेल हेरिसकेका छौँ ।’ प्रशिक्षक महर्जनले भने, ‘माल्दिभ्सको दुई खेलबाट हामीले योजना बनाइरहेका छौँ ।

मसँग प्लेइङ ११ र बेन्चमा पनि उत्तिकै बलियो र सशक्त टोली छ । खेलाडीहरूले प्रमाणित गरिरहेका छन् । त्यसैले, हामी माल्दिभ्सलाई जित्न सक्छौँ ।’

महर्जनले नेपालका वैकल्पिक खेलाडी पनि उत्तिकै सशक्त भएकाले १२औँ खेलाडी छनोट गर्न गाह्रो अवस्था नरहेको बताए । उनले अहिले केही स्टार खेलाडीहरू नभए पनि माल्दिभ्स बल पोजिसन राख्न सक्ने टिम रहेको बताउँदै नेपाली खेलाडीले अट्याकिङमा जुनसुकै बेला पनि गोल गर्ने क्षमता रहेको बताए ।

माल्दिभ्सका प्रशिक्षक पिटर सेगरटले सेमिफाइनलमा आफूहरूलाई सहज नहुने बताएका छन् । पहिलो खेल हारेर पनि सेमिफाइनलमा नेपाल आइपुगेकाले आफूहरूलाई सजिलो नहुने बताएका हुन् । ‘हामीलाई सजिलो हुनेछैन, किनभने नेपालले निकै राम्रो फुटबल खेलिरहेको छ र यो बलियो टिम हो,’ उनको भनाइ थियो ।

प्रतिक्रिया