‘बुलबुल’ को छायांकन सकियो

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’ को छायांकन सकिएको छ ।

विनोद पौडेलले निर्देशन गरेको यो चलचित्र साउनको अन्तिम हप्ताबाट छायांकन सुरु भएको थियो । निर्देशक पौडेलका अनुसार ‘बुलबुल’ को २५ दिनमै सुटिङ सकिएको हो ।

निर्धारित समयभन्दा अघि नै चलचित्रको छायांकन सकिएको बताउँदै उनले भने, ‘फिल्मको एक गीत मात्र खिच्न बाँकी छ । फिल्मको गीत भने मौसमका कारण रोकिएको हो । आउटडोरमा सेट नै लगाएर खिच्नुपर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन ।’ पौडेलले गीत दसैँ–तिहारको बीचमा छायांकन गरिने बताए ।

टेम्पो चालक महिलाको विषयमाथि केन्द्रित रहेर निर्माण गरिएको यस चलचित्रमा अभिनेत्री स्वस्तिमाले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छन् । एक महिनाभन्दा बढी समय लगाएर स्वस्तिमाले टेम्पो चलाउन सिकेकी थिइन् ।

लक्ष्मी बर्देवा उनलाई टेम्पो चालकमा साथीको भूमिकामा देखिएकी छन् । सुटिङ सकिएसँगै निर्माण पक्षले आगामी फागुन ३ गते ‘बुलबुल’ रिलिज गर्ने मिति तय गरेको छ । चलचित्र भ्यालेन्टाइन डेको सन्दर्भ पारेर प्रदर्शन गर्ने तयारी गरिरहेको निर्माता अविरल थापाले जानकारी दिए । उनले भने, ‘नेपाली मितिअनुसार फागुन ३ गते फिल्म रिलिज गर्ने निर्णय गरेका छौँ । डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोचअनुरूप फागुनको समय राखेका हौँ ।’

चलचित्रमा स्वस्तिमा लक्ष्मीसँगै दीपक क्षेत्री, जोयस पाण्डे, बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, आशिका पाण्डे लगायतका कलाकारको अभिनय छ । निर्देशक पौडेलले लेखेको यो चलचित्रको छायांकन सुशन प्रजापतिले गरेका छन् । कोसिस क्षेत्री र उद्गम परियारको संगीत, रजिना रिमाल र निश्चल बस्नेतको स्वर रहेको यस चलचित्रलाई पुरुषोत्तम पाण्डे, अविरल थापा, भीम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।

प्रतिक्रिया