नाडा अटोे सो आजबाट

काठमाडौं । भदौ २६ गतेदेखि सुरु हुने अटोमाबाइल्स एसोसिएन अफ नेपाल (नाडा) को मेलाको तयारी पूरा भएको जानकारी दिएको छ । राजधानीमा पत्रकार सम्मेलन गर्दै नाडाले तयारी पूरा गरेको जानकारी दिएको हो ।

नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले ६ दिनसम्म चल्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । अर्थमन्त्री डा. यूवराज खतिवडाले उद्घाटन गर्ने मेलामा ६२ हजारले अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने, ‘चार महिनामा हुने कारोबार ६ दिनभित्र हुनेछ, ५ सय करोडको कारोबार हुने हामीले अनुमान गरेका छौँ, ७१ वटा संस्थाहरुको उपस्थितिमा १३५ वटा स्टल रहेनछन ।’

नेपालमा गाडीहरूको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने तर्क नै ठीक नभएको उनको स्पष्टोक्ति छ । दुलालले भने, ‘आजको दिनमा पनि १ प्रतिशत नेपाली जनतामा मात्रै आफ्नै गाडीको पहुँच छ । त्यसैले गाडीको संख्या धेरै भएको होइन, सडक कम भएको हो ।’ उनले सडक पूर्वाधारको विकासमा लाग्नको लागि सरकारलाई सुझावसमेत दिएका छन ।

उनले भने,‘हाम्रो देशमा स्तरीय र राम्रा सडक नै छैनन् । अहिले भएका सडकको पनि समयमै मर्मतसम्भार हुँदैन । सरकारले काठमाडाैं उपत्यकामा गाडीको जाम देखेर क्षमताभन्दा बढी गाडी भयो भनिरहेको छ । आयात कम गर्नुपर्छ भनिरहेको छ । त्यो सरकारले जनताप्रति सकरात्मक सोच राखेको होइन । आफूले चाहेको गाडी खरिद गरेर चढ्न पाउनु जनताको अधिकारको कुरा हो ।’

त्यस्तै, नाडाका महासचिव सुनील रिजालले पनि नेपालमा गाडीहरूको संख्या सडकको क्षमताभन्दा धेरै भयो भन्ने सरकारी तर्क नै ठीक नभएको दाबी गरे । उनले अघि थपे, ‘नेपालमानै गाडी उत्पादन गर्ने विषयमा सरकार पनि गम्भीर हुनुप¥यो ।

उद्योगधन्दा स्थापना गर्ने वातावरण बनाउनुपर्यो । उद्योग खोल्ने वातावरण अहिले नै बनिसकेको छैन, मोटर साइकल, टायरजस्ता उद्योगहरू स्थापना भइसकेका छन्, गाडीको पनि हुन्छ, त्यो केही समय लाग्छ ।’ मेलामा विद्यार्थीलाई एक सय ५० रुपैयाँ र अन्यलाई दुई सय रुपैयाँ प्रवेश शुल्क लाग्ने पनि आयोजकले जनाएको छ ।

यसपटक करिब ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी आइसकेका छन् भने विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्रान्डको सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय तहका नाम चलेका ब्रान्ड हेर्नका लागिसमेत व्यवस्था गरिएको छ । प्रदर्शनीलाई भव्य र व्यवस्थित तरिकाले सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया