जियाको रिहाइको माग गर्दै प्रदर्शन

ढाका । बंगलादेशका विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई तत्काल रिहा गर्न माग गर्दै हजारौँले सोमबार प्रदर्शन गरेका छन् ।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियाको रिहाइको मागगर्दै देशभरी प्रदर्शन भएको समाचारमा जनाइएको छ । बंगलादेशमा तीनपटकसम्म प्रधानमन्त्री भइसकेकी ७३ वर्षीया जिया यसै वर्षको सुरुदेखि कारावासमा छिन् । जिया कारावासमा बिरामी अवस्थामा भएको उनको दल तथा पारिवारिक स्रोतको दाबी छ ।

एक जना प्रहरी अधिकारीका अनुसार राजधानी ढाकाको मुख्य भागमा रहेको नेसनल प्रेस क्लबको अगाडि प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी समर्थक झन्डै चार हजार जना सोमबारको प्रदर्शनमा सहभागी भएका थिए ।

तर, विपक्षी दलका प्रवक्ता फक्रुल स्लाम अलाम्गिरले भने ढाकामा भएको प्रदर्शनमा मात्रै झन्डै २० हजार जना सहभागी भएको दाबी गरे । प्रदर्शनमा सहभागीहरूले जियालाई अवैध तरिकाले जेल हालिएकोले तत्काल रिहा गर्न माग गर्दै नारा लगाएका थिए ।

देशभरका प्रायः सबै सहरहरूमा अरू हजाराँैले यस्तै प्रदर्शन गरेको समाचारमा जनाएको छ । ‘उनलाई गलत तरिकाले जेल हालिएको छ, उनलाई तत्काल रिहा गरियोस् र राम्रो अस्पतालमा उपचार गरियोस्,’ विपक्षी दलका महासचिव अलाम्गिरले एएफपीसँग भने ।

पूर्वप्रधानमन्त्री जियालाई गतहप्ता ह्विलचियरमा राखेर अदालत लगिएको थियो । त्यहाँ उनले आफू एकदमै बिरामी भएको र आफ्ना हातखुट्टाले काम गर्न नसकेको बताएकी थिइन् । उनले त्यतिवेला भनेकी थिइन्, ‘मैले न्याय पाउदिनँ भन्ने मलाई थाहा छ, तिमीहरूले आपूmलाई मनलाग्दो शासन गर्न सक्छौँ, मेरो हातखुट्टामा पक्षघात भएको छ ।’

एनटिभी बिडी डट कमले सम्प्रेषण गरेको समाचारमा बंगलादेश नेसनलिस्ट पार्टीका प्रमुख जियाले थपिन्, ‘तिमीहरूले जस्तो चाहान्छौँ, त्यस्तैगरी मलाई कारबाही गर्न सक्छौँ ।’ आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको उनले बताउँदै आएकी छन् ।

बच्चाहरूका लागि विश्वभरबाट संकलन गरिएको १ करोड ६१ लाख दुरुपयोगको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । अदालतले जियाका चार सहयोगीलाई पनि १० वर्षको जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया