युरोप र अमेरिकाबीच सहमतिको खोजी

ब्रसेल्स । संयुक्तराज्य अमेरिका र युरोपेली आयोगका उच्च अधिकारी व्यापारमा देखिएका विवाद सुल्झाउने उपायको खोजी गर्न सोमबार ब्रसेल्समा भेला हुँदैछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड जन्करबीच जुलाईमा भएको वार्तामा एकअर्काविरुद्ध करवृद्धि नगर्ने र सबै वस्तुमा भन्सार दस्तुर हटाउने गरी सीमित व्यापार सम्झौता गर्नेमा सहमति भएको थियो ।

दुवै पक्षबीच भएको यो सहमतिलाई धुमधामसँग प्रचार गरिएको थियो, तर पछिल्ला वक्तव्यले मतान्तर रहेको स्पष्ट गरेको छ, खासगरी, कृषिजन्य उत्पादनका विषयमा अमेरिकाले कुनै पनि सम्झौतामा कृषिलाई भुल्न नसकिने बताए ।

फ्रान्सको दबाबमा युरोपेली सदस्य राष्ट्रहरूले व्यापार सम्झौतामा कृषिजन्य वस्तुलाई समावेश गर्नुपर्ने भन्ने अमेरिकाको दबाबलाई अस्वीकार गरेका छन् । युरोपका वरिष्ठ व्यापार अधिकारी सेसिलिया माल्स्ट्रमले आफ्ना समकक्षी अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्रलाई युरोपको चासोका विषयमा स्पष्ट गर्ने प्रयत्न गर्नेछन् ।

‘युरोपेली आयोग र संयुक्तराज्य अमेरिकाबीच दस्तावेजको रूपरेखामा सहमति हुनेछ, र सायद यो कार्य वर्षको अन्त्यसम्ममा हुनेछ,’ युरोपेली स्रोतले एएफपीलाई बतायो । ‘यथार्थमा, ट्रम्प र जन्करबीच सहमति भएको हो, तर हामीलाई छलफलको विस्तृत जानकारी छैन ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी मध्यावधि चुनाव अघि नै युरोपका चारपांग्रे सवारीसाधनमाथि करवृद्धि गर्ने भनी मन्तव्य दिएका थिए ।
चारपांग्रे सवारीसाधनमा हुने करवृद्धिले जर्मनीमाथि सबैभन्दा ठूलो क्षति पुग्ने अनुमान गरिएको छ । जुनमा युरोपेली स्टिल र आलुमिनियममाथि लगाएको करवृद्धिले थप समस्या सिर्जना गरेको छ । प्रतिशोध स्वरूप युरोपले समेत अमेरिकी वस्तुमाथि करवृद्धि गरेको छ ।

युरोपेली आयोगकी माल्स्ट्रमले गत महिना युरोप–अमेरिकाबीच सवारीसाधनमा करवृद्धि गर्न नहुने बताएका थिए । तर, अमेरिकी राष्ट्रपतिले अमेरिकी कारमाथि युरोपको बजार लगभग बन्द अवस्थामा रहेकोले पनि अमेरिका भित्रिने कारमा कर लगाउनुपरेको दाबी गरिरहेका छन् ।

‘यो विल्कुलै ठीक होइन, यसलाई स्वीकार्न सकिन्न,’ ब्रसेल्सको धारणाप्रति कटाक्ष गर्दै ट्रम्पले भने । ट्रम्पले युरोपेली आयोगलाई चीनसँग पनि तुलना गरे । उनले संयुक्तराज्य अमेरिका प्रवेश गर्ने सबै चिनीयाँ वस्तुमाथि करवृद्धि गर्ने चेतावनी दिएका छन् ।

‘युरोपेली युनियनसँगको व्यापारिक सम्बन्ध पनि चीनजस्तै खराब छ, केही सानो मात्र हो,’ ट्रम्पले अगस्टमा ब्लूमबर्गलाई बताए । तर, तनावमा रहेको जर्मनीको अगुवाइमा रहेका युरोपेली अमेरिका वार्ताको टेबलमा आओस् र कुनै किसिमको सम्झौता होस् भन्ने चाहन्छन् ।

जुलाईदेखि युरोपेली आयोगले अमेरिकासँग धेरैवटा प्रतिबद्धता घोषणा गरेको छ, तर पर्यवेक्षकले यी प्रतिबद्धता पहिल्यै सुल्झेका हुन् भनी टिप्पणी गरेका छन् । युरोपेली अधिकारीले मागमा आएको तीव्रवृद्धि बजारका कारण भएको बताएका छन् ।

प्रतिक्रिया