अफ्रिकामा चिनियाँ झल्को

चीनको आर्थिक सहयोगपछि अफ्रिकाका अधिकांश सहरहरूमा अहिले आधारभूत संरचनाको निर्माणले तीव्र गति लिइरहेको छ ।

तर, अफ्रिकाको विकासमा चिनियाँ मोडल अपनाउनुका पनि आफ्नै चुनौती रहेको सिएनएनले जनाएको छ । विशेषगरी, इथोपियाको राजधानी अदिस अबाबा जस्तो ठाउँमा विकासका काम गर्न तुलनात्मक रूपमा ज्यादै कम स्थान रहेको बताइएको हो ।

तर पनि चिनियाँ कम्पनीहरूले पछिल्लो समय निर्माण गरेका सडक, रेल सेवा र अग्ला भवनका कारण अहिले अविकसित राजधानीमा समेत चिनियाँ सहरको झलक देखिन थालेको बताइएको छ ।

त्यहाँका सर्वसाधारणले अहिले चीनद्वारा निर्मित चिल्लो सडकको मज्जा उठाइरहेका छन् भने चीनले नै अपग्रेड गरेको नयाँ विमानस्थल र आधुनिक रेल सेवासमेत उपयोग गर्न पाइरहेका छन् । २७ लाख मानिसको वासस्थान रहेको सो क्षेत्र समुद्री सतहभन्दा धेरै उचाइमा रहेकाले पनि निर्माण कार्यमा कठिनाइ आउने गरेको बताइएको थियो ।

यसका साथै अन्य अफ्रिकी मुलुक जसरी युरोपेली कोलोनीका रूपमा नरहेकाले पनि इथोपियाको राजधानीमा समेत कुनै आधुनिक संरचनाहरू नभएको बताइन्छ । यस्तोमा सो सहर अत्यन्तै पिछडिएको अवस्थामा थियो । विशेषगरी, खराब र फोहोर सडक त्यहाँको मुख्य समस्या रहँदै आएको छ ।

तर, चीन सरकारसँगको सहकारिता लगत्तै सो क्षेत्रले एकदमै कम समयमा आफ्नो मुहार फेरेको बताइएको छ । दुई दशकमै चीनले अदिस अबाबामा ८ करोड ६० लाख डलरको लगानीमा व्यवस्थित रिङरोड निर्माण गरेको छ भने ८ करोड डलर खर्च गर्दै ६ लेनको सडक निर्माण पनि सम्पन्न गरिसकेको छ ।

त्यसैगरी, थप ४० लाख डलरको लगानीमा चीनले रेलसमेत निर्माण गरेको हो जसपछि मेट्रो प्रणालीअन्र्तगत सहरलाई दुई क्षेत्रमा विभाजन गरिएको छ । यसले अहिले ३० हजार यात्रुलाई अत्यन्तै थोरै शुल्क र कम समयमै निश्चित गन्तव्यसम्म पु¥याइरहेको बताइएको छ ।

यसरी अदिस अबाबाको स्वरूप परिवर्तन गर्नमा यसको पनि ठूलो भूमिका रहेको बताइएको हो । अहिलेचाहिँ चीनले २०२० सम्म सम्पन्न गर्नेगरी ४६ तलाको ग्लास टावर निर्माण गरिरहेको छ जुन अबाबाको सबैभन्दा उच्च भवन हुनेछ । यसलाई बेइजिङले सन् २०१२ मा नै उपहार स्वरूप दिने बताएको थियो जसको लागत २ करोड डलरभन्दा बढी रहेको बताइएको छ ।

यससँगै अफ्रिकाको ऋण १ खर्ब ३० अर्ब डलर पुगिसकेको छ । विद्युतीयदेखि अन्य सबै विकासोन्मुख क्षेत्रमा पछाडि रहँदै आए पनि युरोपेली मुलुकलगायत विश्व बैंक र अन्य कुनै संघसंस्थाले पनि अफ्रिकालाई ऋण नदिने बताएपछि सो क्षेत्र झन् पिछडिँदै गएको थियो । तर, चीनसँगको सम्बन्धपछि भने अफ्रिकी सहरहरूमा सोचेभन्दा धेरै प्रगति भइरहेको अफ्रिकी प्रमुखहरूको भनाइ छ ।

तर, उता अमेरिकाले भने चीनको यस्तो कदमले केवल अफ्रिकाको ऋण मात्र बढाइरहेको र यसले दिर्घकालीन विकासमा कहिल्यै सहयोग नपुर्याउने दाबी गर्ने गरेको छ । लगानीका साथै चीनले अफ्रिकासँग व्यापारिक कारोबार पनि अघि बढाइरहेको छ । २०१६ मा चीनले अफ्रिकामा ८८ अर्ब डलर बराबरको सामग्री निर्यात गरेको थियो भने त्यहाँबाट ४० अर्ब डलरको वस्तुहरू भित्र्याएको थियो ।

तर, पनि चीनले अहिलेसम्म अफ्रिकी मुलुकहरूसमक्ष ताइवानसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्नबाहेक अन्य कुनै माग नराखेको बताइएको छ ।

प्रतिक्रिया