खुला चिडियाखानामा चासो बढ्दै

पोखरा । पोखरा महानगरपालिकाअन्तर्गत पर्ने पचभैया सामुदायिक वनमा निर्माण गरिएको खुला चिडियाखानाले गति लिन थालेको छ । निर्माणसँगै आर्थिक कठिनाइबाट गुज्रिएको चिडियाखानाले क्रमशः गति लिन थालेको हो ।

युनाइटेड क्लब र पचभैयाका स्थानीयहरूको सक्रियतामा करिब साता वर्ष अगाडिदेखि निर्माण थालिएको चिडियाखानामा भौतिक तथा आर्थिक सहयोगसँगै आवश्यक पूर्वाधारसहित जनावर र पंछीहरूको व्यवस्था थालिएको पार्क निर्माण समितिका संयोजक हिमालय बख्रेलले बताए । ‘क्रमिक रूपमा चिडियाखानालाई गति दिँदै छौँ’, उनले भने, ‘यस अभियानलाई निरन्तर अगाडि बढाउँदै आएका छौँ ।’

पार्क निर्माण समितिको पहिलो साधारणसभा एवं अधिवेशनको क्रममा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले पार्कलाई व्यवस्थित बनाउन विस्तृत गुरुयोजना निर्माण गर्न आवश्यक रहेको बताए । पार्कको डिपिआर तत्कालै थाल्न समितिलाई आग्रह गर्दे उनले पार्कलाई सुन्दर र व्यवस्थित बनाउने कार्यमा महानगरको तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।

‘खुला चिडियाखाना निर्माणका लागि कति क्षेत्रफल चाहिने हो, कस्तो किसिमको पूर्वाधार आवश्यक हुन्छ अध्ययन गर्नुपर्छ,’ उनले भने, ‘आवश्यक परेमा विदेशीविज्ञ झिकाएरै भए पनि अध्ययन अनुसन्धान गर्न महानगर तयार छ ।’

पार्क निर्माण गर्न पोखरा महानगरपालिकाले १३ लाख ६० हजार र जनसहभागिताबाट ३ लाख ४० हजार रुपैयाँ गरी कुल १७ लाख रुपैयाँ खर्च गरिएको हो ।

पार्कको गुरुयोजना तयार गर्न गण्डकी प्रदेश सरकारले चालु आव ०७५÷७६ का लागि तीन करोड बजेट विनियोजन गरेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बुद्धिसागर पौडेलले बताए । ‘प्रदेश सरकारले पार्कको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) र वन्यजन्तु उद्धार संरक्षण केन्द्र स्थापनाका लागि डेढ करोड रकम छुट्टाइएको छ,’ उनले भने, ‘अब, बजेट निकासा हुनासाथ काम अघि बढ्छ ।’

सामुदायिक स्तरबाट थालिएको पार्क निर्माण प्रक्रियामा प्रदेश सरकारले सहकार्य गर्दै बृहत्तर गुरुयोजना सहितको आकर्षक पार्क बनाउने योजना अगाडि बढाएको पौडेलले बताए । प्रदेश सरकारले यसलाई गण्डकी प्रदेशकै नमुना पार्कको रूपमा विकास गर्ने योजना रहेको उनले सुनाए । ‘डिपिआर पर्याप्त अध्ययन अनुसन्धान गरेर तयार गरिनेछ,’ उनले भने, ‘यसमा सबैका राय, सल्लाह र सुझाव समेटेरै नमुना पार्क बनाउँछौँ ।’

खुला चिडियाखानासहित वन्यजन्तु पुनस्र्थापना केन्द्र प्रयोगमा आइरहेको हुँदा यस परियोजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको पौडेलले बताए ।

डिभिजन वन कार्यालय कास्कीका डिभिजन अधिकृत केदार बरालले जुलोजिकल पार्क निर्माण अत्यन्तै सराहनीय काम भएको बताए । पार्कमा रहेका वन्यजन्तु व्यवस्थापन प्रमुख विषय भएको हुनाले विशेष अध्ययनसहित ध्यान दिन उनले आग्रह गरे ।

पार्कमा अहिले रतुवा मृग आठ, अजिंगर एक, नीलगाई एक, स्याल एक, बाँदर एक, हुचिल ६, गिद्ध दुई, चिल तीन, वनबिरालो दुई, जरायो एक, खरायो १५, लाटोकोसेरो दुई ओटा रहेका छन् ।

प्रतिक्रिया