बैंक लुट्ने योजना बिफल

पोखरा । चाडपर्व नजिकिएसँगै पोखरामा एकाएक बढेको चोरीका घटनामा संलग्न नौजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई चोरीका सामानसहित पक्राउ गरेको हो ।

पोखराका विभिन्न स्थानमा चोरीका घटमा संलग्न उनिहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चोरीका घट्नाहरूमा संलग्न भएका आरोपमा पक्राउ परेकाहरूमा बाग्लुङ बसपार्क बस्ने १९ वर्षीय विकेश केसी, सोही स्थान बस्ने १८ वर्षीय लक्ष्मण केसी तथा चोरीका सामान किन्ने पोखरा २८ आदर्शबस्तीका २८ वर्षीय तारानाथ परियार रहेका छन् । त्यसैगरी, पोखरा–२ नालामुख बस्ने वर्ष ३३ की मञ्जु केसीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

यस्तै, चोरीको योजना बनाउने योजनाकार पोखरा २७ रिठ्ठेपानी बस्ने वर्ष ५१ को प्रितिमान गुरुङ, म्याग्दी घर भई हाल पोखरा २७ रिठ्ठेपानी बस्ने वर्ष ४५ को ज्ञानबहादुर अर्मजा, सोही स्थानका दिनेश बडुवाल लगायतलाई पक्राउ गरिएको एसपी रानाले बताए ।

एपी रानाका अनुसार तीनैजना विगतमा पनि विभिन्न आपराधिक घटनामा संलग्न रही कैद तथा सजाय भुक्तान गरिसकेका व्यक्तिहरू हुन् ।

पक्राउ गरिएका व्यक्तिहरूबाट चोरीमा प्रयोग गरिने सामाग्रीहरूका साथै चोरीका सामानहरू समेत बरामद गरिएको छ ।

त्यसैगरी, प्रहरीले पोखरा–७ मासबारका २५ वर्षीय प्रतीक पहारी र २६ वर्षीय गणेश परियारसमेत लुटपाटको अभियोगमा पक्राउ गरेको छ ।
प्रहरीका अनुसार निकट भविष्यमा मुक्तिनाथ विकास बैंक चोरी गर्ने योजना बनाइरहेका पोखरा–१४ काजीपोखरीका २१ वर्षीय सन्देश गुरुङ, म्याग्दी जलजला गाउँपालिका–६ बस्ने वर्ष २० की सुनिता पुन मगर र सोही स्थान घर भई हाल पोखरा–९ नयाँबजार बस्ने वर्ष १९ की सुचित्रा थकालीलाई समेत पक्राउ गरिएको छ ।

ड्युटीमा रहेका प्रहरीले शंकास्पद लागेपछि अनुसन्धान गर्दै जाँदा उनीहरूले बैंकमा निरन्तर रेक्की गरिरहेको खुलेको छ । चोरीका लागि रेक्की गरेको र केही समयपछि नै चोरीको योजना बनाएको पक्राउ परेकाहरूले स्वीकार गरेका छन् ।

चाडपर्वका बेला चोरीका घटनाहरू थप बढ्न सक्ने भन्दै प्रहरीले आन्तरिक सुरक्षामा समेत चनाखो बन्न प्रहरीले सर्वसाधारलाई आग्रह गरेको छ ।

भिडभाड वा एकान्तमा यात्रा गर्दा विशेषगरी बहुमूल्य धातुका गरगहना प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया