मदिरा निषेधतविरुद्ध बजार बन्द

बझाङ । बझाङमा दोस्रो जिल्लासभाले गरेको मदिरा निषेध निर्णयविरुद्ध उद्योग वाणिज्य संघ र होटेल व्यवसायी संघमा आबद्ध व्यवसायीले सोमबार दिनभर सदरमुकाम चैनपुर बजार बन्द गरेका छन् ।

जिल्लासभाले मदिरा निषेधित गर्ने निर्णय गरेको एकसाता नबित्दै इजाजत पत्र लिएका व्यवसायीले मदिरा खरिद बिक्री गर्न पाउनुपर्ने भन्दै सोमबार बिहानैदेखि विरोध ¥यालीसहित सरमुकाममा चैनपुर बजार बन्द गरेका हुन् ।

उद्योग वाणिज्य संघ, होटेल व्यवसायी संघ र सरोकारवाला निकायको उपस्थितिविना जिल्लासभाले मदिरा निषेधित गर्ने एकलौटी निर्णय गरेको भन्दै व्यवसायीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सदरमुकाममा रहेका होटेल तथा पसलहरू पूर्णरूपमा बन्द गरेका थिए ।

मदिरा बिक्री वितरणको इजाजतपत्र नवीकरण गरिनुपर्छ भन्दै आन्दोलनकारीले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा समेत धर्ना दिएका छन् ।

इजाजत पत्र लिएकाहरूले जिल्लामा मदिरा बिक्री वितरण गर्न पाउनुपर्छ भन्ने बझाङका व्यवसायीहरूको माग रहेको छ । गत १४ भदौमा दोस्रो जिल्लासभाले बझाङ जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय पारित गरेको थियो ।

दिनभर सदरमुकाम चैनपुर बजार बन्द गरिँदा तिज पर्वका लागि मालसामान खरिद गर्न सदरमुकाम पुगेका दुर्गम क्षेत्रका बासिन्दा रित्तैहात घर फर्केका छन् । बन्दले सदरमुकामको जनजीवन सामान्यतया प्रभावित भएको छ । माग पूरा नभएसम्म विभिन्न चरणको आन्दोलन जारी रहने प्रदर्शनकारीले जनाएका छन् ।

जिल्लासभाले गरेको मदिरा निषेधको निर्णय खारेज गरिनुपर्ने माग राख्दै विरोध जुलुस प्रदर्शन गरेको उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया