प्राधिकरणलाई फल्ट पत्ता लगाउनै मुस्किल

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा नियमित विद्युत् आपूर्ति नहुँदा एक सातायता सेवाग्राहीलाई सास्ती भएको छ ।

विद्युत् आपूर्ति नियमित नहुँदा जिल्लाका उद्योगी, व्यावसायीलगायत स्थानीय सर्वसाधारण सात दिनदेखि समस्यामा परेका छन् । झापाको पाडाँजुगीदेखि १३२-३३ केभिए सव–स्टेसनबाट इलामको तिल्केनी सव–स्टेसनसम्म १३२ केभिए ट्रान्सर्फमरबाट विद्युत् प्रसारण भइरहेको छ ।

सोही प्रसारण लाइनअन्तर्गतको इलाम तिल्केनी–पाँचथर खण्डमा आएको प्रविधिक गडबडी पत्ता लगाउन नसक्दा विद्युत् आपूर्ति अनियमित भएको हो । विद्युत् लाइन कहाँ फल्ट भएको हो ? भनेर पत्ता लगाउन नसक्दा समस्या भएको विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले बताए ।

फल्ट पत्ता लगाउन निरन्तर प्रयास भए पनि सम्भव नभएको उनको भनाइ छ । ताप्लेजुङसम्म इलामको तिल्केनीबाट एक सय ४५ किलोमिटर दूरी पर्दछ । लामो दूरी भएका कारण पनि छोटो समयको अन्तरालमा नै विद्युत् अवरुद्ध हुने गर्दछ । ताप्लेजुङ यस प्रसारण लाइनका लागि अन्तिम जिल्ला भएकाले पनि समस्या भएको प्रमुख साहको भनाइ छ ।

अन्तिममा पर्दा इलाम तथा पाँचथरमा विद्युत् अवरुद्ध भए पनि यहाँसम्म असर पर्ने गर्दछ । एक सातासम्मको प्रयासमा पनि फल्ट पत्ता लगाउन नसकेपछि अहिले एकपछि अर्को गर्दै प्रत्येक उपकरणहरूमा विद्युत् फल्ट पत्ता लगाउने काम गरिरहेको प्राधिकरणले जनाएको छ । सीमित कर्मचारी र विद्युत् विस्तार भएको क्षेत्र ठूलो भएकाले थप समस्या भएको प्रमुख साहले बताए । ‘हामी निरन्तर प्रयासमा छौँ,’ प्रमुख साहले भने, ‘विद्युत् लाइन फल्ट भएको स्थान पत्ता लगाउन नसक्दा समस्या भएको हो ।’

३३ केभिए क्षमताको केन्द्रीय प्रसारण लाइनको इलाम र पाँचथर खण्डमा समेत विद्युत् फल्ट भएको छ । अहिले इलाम र पाँचथर जिल्लामा पनि विद्युत् नियमित छैनन् । केन्द्रका प्रमुख साहका अनुसार इलामको तिल्केनीदेखि पाँचथरसम्मको बीचमा विभिन्न हाइड्रोपावरहरू सञ्चालनमा रहेका र ती हाइड्रोपावर ३३ केभिए लाइनमै सिंक्रोनाइज गरिएकाले तिनीहरूमा भएका समस्याका कारण पनि यस्तो समस्या आउन सक्ने भएकाले ती हाइड्रोपावरका उपकरणहरूसमेत चेकजाँचको कामका लागि पहल सुरु भएको छ ।

लामो समयदेखि छोटो समयको अन्तरालमा नै समस्या आइरहेकाले विद्युत् प्राधिकरण ताप्लेजुङ, पाँचथर र इलामका प्राविधिकहरू प्रयासरत रहेको साथै यस विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले समेत चासो दिएको बताइएको छ ।

बिजुली अवरुद्ध हुँदा जिल्लामा सञ्चालित तीनवटा सामुदायिक रेडियोसमेत सातायता प्रसारणमा समस्या भएको बताएका छन् ।

एफएम रेडियोको प्रसारण बन्द हुँदा ताप्लेजुङसहित आसपासका बासिन्दा सूचना र मनोरञ्जन पाउनबाट वञ्चित भएको रेडियो तमोरका स्टेसन म्यानेजर सजन पौडेलले बताए ।

‘लामो समयदेखि विद्युत् नियमित छैन । प्रसारणमा समस्या भएको छ ।’ स्टेसन मेनेजर पौडेल भन्छन्, ‘जेनेरेटर चलायो, डिजेल त पानी खाएझैँ खान्छ ।’ विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीय इन्टरनेट सेवा प्रवाहमा समेत समस्या भएको युएफओ केवल नेटर्वकिङ एण्ड माकेर्टिङका प्रोप्राइटर युगराज गुरुङले बताए ।

बिजुली अभावमा रकम भुक्तानी गर्न र पठाउन समस्या भएको वित्तीय संस्थाहरूको भनाइ छ । विद्युत् सेवा अवरुद्ध हुँदा विदेशबाट आफन्तले विभिन्न मनि ट्रान्स्फर्मरमार्फत घरमा पठाएको रकम निकाल्न पाएका छैनन् ।

प्रतिक्रिया