३३ प्रतिशत महिला सहभागिताको माग

काठमाडौं । अन्तरपार्टी महिला सञ्जालले संवैधानिक व्यवस्थाअनुरूप संवैधानिक आयोग, कूटनीतिक निकायलगायत राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

सञ्जालले प्रमुख दलका नेताहरूलाई भेटेर राज्यका हरेक निकायमा महिलाको समानुपातिक सहभागिताको हक हुनेछ भन्ने संवैधानिक व्यवस्थाअनुरूप प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको हो ।

सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव कल्याणी रिजालको नेतत्वको टोलीले सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई छुट्टाछुट्टै भेटेर त्यससम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको छ । लोकतन्त्रको पुनः बहालीपछि राजनीतिक दलले महिलाको भूमिका र योगदानको कदर गर्दै सहभागिता बढाउँदै लगेको भए पनि सबै क्षेत्रमा पूर्णले समानुपातिक समावेशी प्रतिनिधित्व गराउन अझै नसकिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेपालको संविधानअनुसार भएका तीनै तहका निर्वाचनको परिणामलाई हेर्दा संघ र प्रदेशमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व भएको र स्थानीय तहमा करिब ४१ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । सञ्जालले यसलाई गुणात्मक उपलब्धि भएको उल्लेख गर्दै संवैधानिक आयोग, कूटनीतिक निकायलगायत राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो ।

प्रतिक्रिया