बूढानीलकण्ठमा थरि–थरिका उजुरी

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा न्याय पाउने आशासहित थरि–थरिका उजुरी पर्न थालेका छन् । गत वर्षको मंसिर–पुसबाट नगरपालिकाले स्थानीय सरकारको ऐनमा रही न्यायिक समितिको काम गर्ने जिम्मेवारी पाएसँगै विभिन्न किसिमका उजुरी दर्ता भइरहेका छन् ।

परेका उजुरीमध्ये आधाजसो छलफलबाटै टुंगोमा पु¥याएको छ भने आधा अझै किनारा लाग्न सकेको छैन । नगरपालिकामा ६ वटा सम्बन्ध विच्छेद्का उजुरी परेकामध्ये दुईवटा मेलपिलाप गरी पठाएको छ भने एउटा मेलमिलापकै चरणमा रहेको छ । पत्नी विदेशमा रहेका पतिले समेत सम्बन्ध विच्छेद गरी पाउँ भनी उजुरी दिएको नगरपालिका न्यायिक समितिका संयोजक रमादेवी राईले जानकारी दिइन् ।

यसैगरी, घर भाडामा लगाएका घरमालिकले बहालमा बस्नेले विभिन्न शैलीबाट आफूलाई मानसिक तनाव दिएको भन्दै हटाउन माग गरेका छन् । ठूलो–ठूलो स्वरमा आवाज निकाल्ने, बिहान–बेलुका होहल्ला गर्ने कार्य गरेको भन्दै हटाइदिन उजुरी परेको राईले बताइन् । यस्ता सातवटा मुद्दा परे पनि अझै फैसला भएको छैन ।

घर जग्गाको कारोबारमार्फत पाउनुपर्ने रकम नपाएको भन्दै बैना रकम दिलाई पाउँ विषयमा दुई वटा मुद्दा परेका छन् । ति दुईवटा मुद्दामध्ये एकको मिलापत्र भएको छ भने भने अर्काेको फैसला हुन अझै बाँकी छ । छोराबुहारीको सम्बन्ध विच्छेद भएपछि नातिनीहरू मामाघरमा बस्दै आएका कारण आफूले भेट्न नपाएको भन्दै घरतिरका हजुरबुबाले भेट्ने वातावरण मिलाइदिन आग्रह गर्दै उजुरी हालेका छन् ।

यसैगरी, फुटसलले ध्वनि प्रदूषण बढाएको भन्दै त्यसलाई रोकिदिन माग गर्दै अर्को उजुरी समितिमा दर्ता भएको छ । समाजमा दुर्गन्ध फैलाएको भन्दै वधशाला बन्द गरिदिन, पत्नीले मानाचामल र खर्च भराई पाउँ लगायत विभिन्न विषयको उजुरी बूढानीलकण्ठ नगरपालिकामा दर्ता भएका छन् ।

प्रतिक्रिया