मिश्रलाई जोशीको स्वागत

बाहिर अरूले भनेजस्तो अदालतका न्यायाधीशहरूबीच विवाद नरहेको बताउँदै प्रधानन्यायाधीश मिश्रले जोशी न्यायाधीशकै रूपमा काममा फर्किने बताए ।

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पदभार सम्हालेका छन् । संसदीय सुनुवाइ समितिले सोमबार बिहान सर्वसम्मत अनुमोदन गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीबाट साँझ शपथ लिएलगत्तै सर्वोच्च पुगेर उनले पदभार सम्हालेका हुन् ।

करिब ६ महिनादेखि कायममुकायमका भरमा चल्दै आएको सर्वोच्चले चार महिनाका लागि नयाँ नेतृत्व पाएको छ । पदभार सम्हाल्न सर्वाेच्च अदालत आइपुग्दा मिश्रलाई यसअघि सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशीले स्वागत गरेका थिए । मिश्रलाई स्वागत गर्ने लाइनमा जोशी सबैभन्दा अगाडि थिए । उनी सर्वोच्चका वरिष्ठतम न्यायाधीशसमेत हुन् ।

सर्वाेच्च परिसरभित्र पुगेर मिश्र चढेको गाडी रोकिएपछि जोशीले अगाडि बढ्दै माला लगाइदिएर गल्र्याम्म अँगालो हालेका थिए । पदभार सम्हालेपछि भएको पत्रकार सम्मेलनमा पनि जोशी मिश्रको छेउमै बसेका थिए । प्रधानन्यायाधीश मिश्रले सूचना प्रविधिको प्रयोग गरेर मुद्दाको पेसी तोक्ने विषयमा आफ्नो प्राथमिकता रहने बताएका छन् ।

उनले बाहिर अरूले भनेजस्तो अदालतका न्यायाधीशहरूबीच विवाद नरहेको बताउँदै जोशी न्यायाधीशकै रूपमा काममा फर्किने पनि बताए । ‘हामीबीच बाहिर भनिएजस्तो त्यस्तो केही विवाद छैन,’ मिश्रले भने, ‘कम्तीमा मेरो कार्यकालमा त्यस्तो केही हुनेछैन ।’

सोमबार बिहान भएको संसदीय सुनुवाइ समितिको बैठकमा मिश्रले आफ्ना कार्ययोजना र आफूविरुद्ध परेका उजुरीबारे बोल्दै न्यायपालिका र उनको न्यायसम्पादनबारे उठेका कतिपय प्रश्नको उत्तर दिएका थिए ।

सुनुवाइका क्रममा उनले अदालतमा हुने गरेको भ्रष्टाचारलाई अन्त्य गरी नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘

अदालतमा भ्रष्टाचारी र बिचौलियालाई प्रवेश नै निषेध गर्न गोप्य निगरानी गर्ने संयन्त्र बनाउने योजना छ, यदि त्यस्ता व्यक्ति प्रवेश गरेको पाइएमा आकस्मिक निरीक्षण गर्ने योजना छ,’ प्रस्तावित प्रधानन्यायाधीश मिश्रले भनेका थिए, ‘मेरो कार्यकालमा अदालतमा भ्रष्टाचार र बिचौलियाको अन्त्य गर्नेछु, आमनागरिकमा न्यायालयप्रतिको आस्था बढाउने काम गर्नेछु ।’

सुनुवाइकै क्रममा मिश्रले न्यायसम्पादनका क्रममा आफूले १७ हजार मुद्दा फैसला गरेको बताएका थिए । सांसदका प्रश्नको जवाफ दिँदै मिश्रले आफूले कुनै प्रकारको राजनीतिक प्रभाव अदालतमा परेको महसुस नगरेको पनि बताएका थिए । ‘न्यायपरिषद्बाट न्यायाधीश नियुक्त गर्ने वेलामा केही असर होला । अदालतमा आएपछि जुनसुकै पृष्ठभूमिबाट आएको भए पनि प्रभाव पर्दैन । मैले कुनै राजनीतिक प्रभाव अदालतमा पाएको छैन,’ उनको भनाइ थियो ।

सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले न्यायालयको कामकारबाही राम्रो बनाउने र न्यायालयप्रति नागरिकको जनविश्वास बढाउने १० बँुदे भावी योजना प्रस्तुत गरेका थिए । योजनामा यस वर्षलाई फैसला कार्यान्वयनको वर्षका रूपमा मनाउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेलगायत छन् । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी परेकामा एक जनाले उजुरी फिर्ता लिएका थिए । तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रस्ट हुने प्रयास गरेको थियो ।

पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउने लगायतका प्रतिबद्धता व्यक्त गरे ।

रूपन्देहीको रायपुरमा २८ पुस ०१० मा महेशदत्त र अन्नपूर्ण मिश्रको सन्तानका रूपमा जन्मेका मिश्रले ३० जेठ ०३८ मा तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतबाट सेवा सुरु गरेका हुन् । गत २० साउनदेखि कायममुकायम प्रधानन्यायाधीशका रूपमा काम सुरु गरेका मिश्रले सोमबारदेखि २८औँ प्रधानन्यायाधीशका रूपमा समग्र न्यायालयको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण मिश्रले १८ पुसमा अवकाश लिनेछन् ।

यसैबीच, सुनुवाइबाट अस्वीकृत न्यायाधीश जोशीले आफू मंगलबारदेखि अदालतमा हाजिर भई दैनिक कामकारबाही थाल्ने बताएका छन् । उनले नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्दै न्यायालयमा जुनियर, सिनियर नहुने अभिव्यक्तिसमेत दिए । ‘मिश्र श्रीमान् मेरो समकक्षी हो । सिनियर र जुनियरको कुरै उठदैन,’ जोशीले वरिष्ठतम न्यायाधीशका रूपमा स्वागत गर्दै भने, ‘न्यायालयमा कोही जुनियर र सिनियर हुन्न । अब म मंगलबार नै अदालतमा गएर दैनिक कामकाज गर्न थाल्छु ।’

प्रतिक्रिया