एकता टुंग्याउन बुधबार सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका लागि तल्ला कमिटीमा अड्किएका विवाद समाधान गर्न सचिवालय बैठक बोलाएको छ ।

प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकतासँगै नेतृत्व कसले पाउने भन्नेमा विवाद रहिरहेका वेला दुई अध्यक्षले बुधबार सचिवालयको बैठक बोलाएका हुन् । यसअघि बोलाइएको स्थायी कमिटीको बैठक विभिन्न कारण देखाउँदै पटक–पटक स्थगित हुँदै आएपछि सचिवालयमा नै छलफल गर्ने निष्कर्ष निकालिएको हो ।

यस विषयमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो । दुई अध्यक्षबीच भएको छलफलले सचिवालयको बैठकबाट स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने सहमति भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच तल्लो तहको एकता पूरा भएको छैन ।

प्रदेश तथा जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता भदौभित्र निष्कर्षमा पुर्याउने सहमतिअनुसार बुधबार बैठक बसेर टुंगोमा पु¥याउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘अहिले जे–जस्तो अवस्थामा प्रतिवेदन तयार गरिएको छ, त्यही प्रतिवेदन बुझाउन भनेका छौँ,’ उनले भने, ‘धेरैजसोले बुझाइसकेका छन् र नबुझाएकाले बुधबारसम्म बुझाउने र ती प्रतिवेदनका आधारमा सबै तहको एकताको निर्णय गर्नेछौँ ।’

यसअघि, भदौ ५ गतेभित्र सबै तहको एकता गरिसक्ने समयसीमा तोकिएको थियो । तर, त्यो समयसीमामा इन्जिनियरबाहेक कसैको पनि एकता भएन र केहीले मात्र अपुरो प्रतिवेदन बुझाएका छन् । त्यसपछि, पटक–पटक म्याद थप गरे पनि प्रतिवेदन बुझाउन नसकेपछि जे–जस्तो अवस्थामा छ, त्यही प्रतिवेदन बुझाउन नेतृत्वले निर्देशन दिएको थियो ।

प्रदेश—१ र २ ले अहिलेसम्म एकताको लागि प्रतिवेदन बुझाउन सकेका छैनन् भने भ्रातृसंगठनमा प्रमुख भ्रातृसंगठन युवा, विद्यार्थी र महिलाले समेत प्रतिवेदन बुझाएका छैनन् । २१ वटा जनवर्गीय संगठनमा युवा, विद्यार्थी र महिला संगठनको खाका अझै बनेको छैन ।

नाम र मुख्य गरी नेतृत्वमा विवाद भएपछि जनवर्गीय संगठनका प्रतिवेदन बन्न नसकेका हुन् । जसका कारण, तीन महिनामा हुने भनिएको जनवर्गीय संगठनको एकता अझै अन्योलमा छ । युवा संगठनले मंगलबार नाम र नेतृत्व टुंग्याउने कार्यदलका सदस्य रामप्रसाद सापकोटाले जानकारी दिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मदन जीवराजको स्मृति दिवसको अवसरमा ३ जेठमा पार्र्टी एकता घोषणा गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राख्दै तीन महिनामा सबै तहको पार्टी एकता गर्ने बताएका थिए । प्रदेश र भ्रातृसंगठनको एकता गर्नका लागि दुवै पार्टीका सम्बन्धित तहको इन्चार्ज र अध्यक्षसहित चार जनाको कार्यदल बनाइएको थियो ।

एकीकरणसँगै नेपाल कम्युनिस्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय बनेको छ । एकतामा ढिलाइ हुँदा कार्यकर्तामा अन्योल पैदा भएको छ । तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएका कार्यदलहरूले बुझाएका प्रतिवेदनका आधारमा सचिवालयले निर्णय गरेपछि स्थायी समितिले अनुमोदन गर्दै एकताको टुंगो लगाउनेछ ।

प्रतिक्रिया