कांग्रेसद्वारा भारत बन्द

नयाँदिल्ली । पेट्रोलियम पदार्थमा दैनिकजसो भइरहेको मूल्यवृद्धिको विरोधमा कांग्रेससमेत विपक्षी दलहरूले सोमबार भारत बन्द गरेका छन् । सबैजसो विपक्षी दलले दिल्लीको रामलीला मैदानमा विरोध प्रदर्शन गरिरहेका छन् ।

सबै राज्यमध्ये बन्दको असर सबैभन्दा धेरै छत्तीसगढमा देखिएको छ

कांग्रेस अध्यक्ष राहुल गान्धीले यस क्रममा मोदी सरकारको खुलेर आलोचना गरेका छन् । ‘तेलको मूल्यबारे प्रधानमन्त्री एक शब्द बोल्दैनन् । जुन कुरा सरकारबाट देशवासी सुन्न चाहन्छन्, त्यसबारे मोदी केही बोल्दैनन् । बलात्कार, महँगीजस्ता कुरामा मोदी शान्त छन्,’ राहुलले भने, ‘आज सबै विपक्षी एकठाउँ उभिएका छौँ । हामी सबै मिलेर मोदी सरकार हटाउने काम गर्नेछौँ ।’

यसैबीच, जहानावादमा बन्दका कारण भएको जाममा एम्बुलेन्स फस्दा एक बालिकाको मृत्यु भएको छ । सबै राज्यमध्ये बन्दको असर सबैभन्दा धेरै छत्तीसगढमा देखिएको छ ।

कैलाश मानसरोवर यात्रामा गएका राहुल फर्केलगत्तै राजघाट गएर महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए । राहुल गान्धीसँगै विपक्षका कैयौँ नेता राजघाटदेखि मार्च पास गर्दै रामलीला मैदान पुगेका थिए । त्यहाँ, सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, शरद पवार, शरद यादव र गुलाम नवी आजाद उपस्थित थिए । कांग्रेसबाहेक डिएमके, एनसिपी, आरजेडी, सपा, एमएनएसलगायत २० विपक्षी पार्टीले प्रदर्शनमा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया