दुई वर्षपछि म प्रधानमन्त्री

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दुई वर्षपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष आफू बन्ने विषय फेरि ब्युुँताएका छन् ।

तत्कालीन एमाले–माओवादी एकीकरण हुँदा यो विषयले चर्चा पाएको थियो । नेपालमा हुँदा केही नबोलेका दाहालले भारत भ्रमणका क्रममा आइतबार प्रकाशित हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणलाई अन्तरवार्ता दिँदै यही ३ जेठमा भएको पार्टी एकीकरणका वेला दुई वर्षपछि आफू अध्यक्ष र प्रधानमन्त्री बन्ने सहमति भएको बताएका छन् ।

तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य रूपमा यो सहमति भएको अन्तरवार्तामा उनले खुलाएका छन् । उनले हाल दुवै अध्यक्षबीच कुनै विवाद नरहेको र वर्तमान कम्युनिस्ट सरकार सफल भएकोसमेत दाबी गरे । ‘सहमतिअनुसार ओली अहिले प्रधानमन्त्री भएका हुन् र दुवैले दुई वर्षसम्म समान हैसियतमा अध्यक्ष पद चलाउने समझदारी हो,’ दाहालले अन्तरवार्तामा भनेका छन्, ‘यो सरकार दुई वर्ष पुगेपछि केपी ओलीले प्रधानमन्त्री पद छोड्नुहुन्छ । महाधिवेशनसम्म दुवै अध्यक्ष हुनेछौँ, यसमा हामीबीच कुनै विवाद छैन ।’ यदि सहमति पालना नभए दुई वर्षपछि नै निर्णय गरिने उनले बताए ।

चीनले नेपालका सबै कम्युनिस्ट पार्टी एक भएको हेर्न चाहेको र दुई पार्टी एकतामा चीनको कुनै दबाब नरहेको दाहालले प्रस्ट्याए । उनले शान्ति प्रक्रियाको सुरुआतदेखि नै दुई पार्टीबीच एकताको कुरा चलेको जिकिर गरे । यो एकता नितान्त घरेलु आवश्यकताले जन्माएको प्रक्रिया भएको उनको दाबी छ । ‘चीनले जहिले पनि नेपालका सबै कम्युनिस्टहरू एक भएको हेर्न चाहेको छ,’ दाहालले भने, ‘यो सबै कम्युनिस्ट पार्टीहरूको एकता पनि हो ।’

उनले नेपालको राजनीतिमा जहिले पनि भारतीय र चिनियाँ कार्ड खेल्ने हल्ला चलेको बताउँदै त्यसमा सत्यता नरहेको उल्लेख गरे । उनले चीनसँग पछिल्लो समय विभिन्न क्षेत्रमा सहकार्य र गतिविधि बढेको भए पनि नेपालको आर्थिक गतिविधिमा भारत अझै मुख्य कर्ता भएको बताए ।

त्यसैगरी, दाहालले सोमबार ओलीसँग बालुवाटारमा भेटेर भारत भ्रमणबारे अवगत गराएका छन् । ओलीसँग दाहालले भ्रमण अत्यन्त सफल भएको बताउँदै सरकार र पार्टी एकता दुवैलाई यसले बल पुग्ने उल्लेख गरे । ‘बाहिर चर्चा भएजस्तो मेरो दिल्ली यात्राबाट कुनै खतरा छैन,’ दाहालले ओलीसमक्ष भने, ‘हामी भारतप्रति शंका गर्न छोडौँ ।’ नेपालभित्र हल्ला चलेजस्तो भारतले नेपालप्रति नकारात्मक नसोचेको भन्दै दाहालले ओलीलाई आश्वस्त पार्ने प्रयास गरे ।

भेटका क्रममा ओलीले दाहालको कुरामा कुनै जवाफ फर्काएनन् । दाहालको भारत भ्रमणप्रति सुरुकै दिनदेखि ओली पक्ष सशंकित हुँदै आएको थियो । दाहालको दिल्ली यात्रा र त्यहाँ भएको उच्चस्तरीय संवादले ओली पक्ष झस्किएको राजनीतिका जानकारहरूले अनुमान गरेका छन् । उनको दिल्ली यात्राले एकीकरणको गति र सत्ता समीकरणमा समेत ढिलोचाँडो असर पार्ने चर्चा पार्टीभित्र चलेको छ । ओलीको विकल्पको रूपमा दिल्लीले दाहाललाई उपयोग गर्न सक्ने नेकपाभित्रको एउटा पक्षले आशंका गरेको छ ।

भारत जानुपूर्व दाहालको दिल्ली यात्राको आकस्मिक योजना सुन्दा ओली त्यति खुसी थिएनन् । दाहालले सोमबार बिहान दिल्ली भ्रमणबारे सुनाउँदा ओलीले केही प्रतिक्रिया नदिएका स्रोतले बतायो । ओलीले दाहालको भारत भ्रमणप्रति प्रतिक्रिया नदिनुले नै पार्टीभित्र मनमुटाव सुरु भएको संकेत दिएको हो ।

दुई नेताबीचको भेटमा बुधबार सचिवालयको बैठक बोलाउने सहमति भएको छ । दाहालले बुधबारको बैठकमा सविस्तार भारत भ्रमणको जानकारी गराउनेछन् । अध्यक्ष दाहालले भारत भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । तल्लो कमिटी तथा जनवर्गीय संगठनको एकताका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया