प्रधानमन्त्री ओलीलाई पृथ्वी सुब्बाको हाँक

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय सरकारसँग अधिकार माग्नका लागि मुख्यमन्त्रीहरु एकजुट भएको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पर्वतले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘पोखरामा हालै भएको ७ वटै प्रदेशका मुख्यमन्त्रीको भेला संघीय सरकारविरुद्ध मोर्चाबन्दी गर्न नभई अधिकारको खोजीका लागि भएको हो ।’

मुख्यमन्त्री गुरुङले भेला भएर अधिकारको खोजी गर्दा त्यसलाई मोर्चाबन्दी भएको भन्नु उपयुक्त होइन भन्दै प्रदेश सरकारका लागि आवश्यक कानून, कर्मचारीलगायतका विषय संघीय सरकारले अहिलेसम्म दिन नसकेका कारण हामीलाई काम गर्न कठिनाइ भएको बताए ।

‘प्रदेशलाई दिनुपर्ने अधिकार र संरचनाहरु छिटो देउ, काम गर्ने वातावरण बनाउनुप¥योभन्दा कसरी मोर्चाबन्दी हुन्छ’, उनले भने, ‘आवश्यक कर्मचारी र संरचनाको अभावमा प्रदेश सरकारले काम गर्न नसकेको र यस कार्यमा संघीय सरकार अनुदार बनिदिदाँ समस्या झन जटिल बनेको गएको छ ।’

मुख्यमन्त्री गुरुङले प्रदेशका लागि आवश्यक कर्मचारी पठाउने, आर्थिक स्रोतको बाँडफाँट गर्ने र प्रदेशका लागि अधिकार प्रत्यायोजन गर्ने संघीय कानून संशोधनमा ढिलाइ गरेर संघीय सरकार अनुदार बनेको धारणा व्यक्त गरे ।

प्रदेश सरकारले काम गर्न थालेको पाँच महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु अनुचित भएको उल्लेख गर्दै उनले स्रोतसाधन परिचालन गरेर अधिकतम आम्दानी गर्दा संघीयता बलियो हुने बताए ।

मुख्यमन्त्री गुरुङले करको हाउगुजी धेरै बढेकाले लिनै पर्ने शीर्षकमा मात्र कर संकलन गर्न स्थानीय तहलाई आग्रह पनि गरे ।

प्रतिक्रिया