छानविनबाट अलगिए केसी, सरकारसंग सुरक्षा माग

काठमाडौं । निर्मला हत्या छनविन समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिएका छन् । केसीले आफूलाई जिउ ज्यानको खतरा भएको भन्दै सरकारसंग सुरक्षाको मागसमेत गरेका छन् ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा सरकारद्वारा गठित छानविन समितिको म्याद थपिएपछि उनले राजीनामा दिएका हुन् ।

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसीले सोमबार पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका हुन् । समितिको म्याद थप गरिएकोमा उनको मुख्य असन्तुष्टि छ । । केसीले भने, ‘निर्मलाको न्यायका लागि नै मैले राजीनामा दिएको हुँ । म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो ।’

गृहमन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पााच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो । समितिले स्थगत अध्ययन सकाए पनि प्रतिवेदन बुझाएको छैन ।

प्रतिवेदनको मस्यौदा तयार भइसकेको भन्दै उनले भनेका छन्, ‘डीएनए टेष्टको रिपोर्ट र १५ दिनभित्र प्रतिवेदन पेश नगरेमा हुनसक्ने सम्भावित दुर्घटना र अपराधी उम्कन सक्ने सम्भावनाबारे आफ्नो धारणा समितिमा राख्दै आएँ । मेरो धारणा र तथ्य ओझलमा पर्ने सम्भावना देखेर जिम्मेवारीबाट हटेँ ।’

उनले घटनाको छानबिनका क्रममा सत्यतथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउने अठोटसँगै आफू क्रियाशील रहेकाले ज्यान जोखिममा रहेको भन्दै सुरक्षा समेत माग गरेका छन् ।

प्रतिक्रिया