नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

काठमाडौं । साफ च्याम्पियनसिप २०१८ को सेमिफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ । समूह ‘बि’ को लिग चरणको अन्तिम खेल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको हो ।

लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई २—० गोलले पराजित गरेपछि भारत समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । बंगलादेशको बगबन्धु रंगशालामा भएको खेलमा भारतका लागि दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । भारतका लागि निखिल पुजारीले ३६औँ मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । मनवीर सिंहले ४४औँ मिनेटमा दोस्रो गोल गरे । दुवै खेलाडीले भारतका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

माल्दिभ्स र श्रीलंकाले एक आपसमा गोलरहित बराबरी खेल्दा भारतसँग समान २–० गोलको हार बेहोरेका थिए । गोल अन्तर र हेड टु हेडमा दुवै टिमको समान अंक भएपछि टसबाट समूह उपविजेताको टुंगो लगाइएको थियो । टस माल्दिभ्सले जित्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

अब भारतले समूह ‘ए’ को उपविजेता पाकिस्तानसँग आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ । त्यसअघि बुधबार नै समूह ‘ए’ को विजेता नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । समूह विजेता बनेर अन्तिम चारमा पुगेको नेपाल पाँचौँ पटक अन्तिम चारमा पुगेको हो । बुधबार जित हात पारे नेपाल पहिलोपटक फाइनलमा पुग्नेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको थियो । त्यसपछि नेपालले भुटानमाथि ४–० र आयोजक बंगलादेशमाथि २–० को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । नेपालले अहिलेसम्म समूह चरणमा सात गोल गरिसकेको छ भने एक गोल खाएको छ ।

साफ च्याम्पियन्ससिपको इतिहासमा नेपालले माल्दिभ्सलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । यी दुईबीच ६ पटक भिडन्त हुँदा २ खेल बराबरीमा सकिएको थियो भने ४ खेलमा नेपालले हारेको छ । ती खेलमा नेपालले ७ गोल प्रहार गर्दा १४ गोल खाएको छ ।

प्रतिक्रिया