ओसाका च्याम्पियन

न्युयोर्क । जापानकी खेलाडी नाओमी ओसाकाले ऐतिहासिक रूपमा युएस ओपन टेनिसको महिलातर्फको च्याम्पियन बनेकी छन् । २०औँ वरीयताकी ओसाकाले १७आँै वरीयताकी अमेरिकी खेलाडी सेरेना विलियम्समाथि २–० को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

न्युयोर्कस्थित अर्थर एसे टेनिस कोर्टमा शनिबार राति भएको खेलमा सेरेनाले अम्पाएरमाथि गम्भीर आरोप लगाएको खेलमा ओसाकाले सनसनीपूर्ण जित निकालिन् । सेरेनामाथिको जितसँगै ओसाका ग्रान्डस्लाम उचाल्ने पहिलो जापानी खेलाडीसमेत भएकी छिन् । २० वर्षीया ओसाकाले पूर्व विश्व नम्बर एक सेरेनामाथि ६–२ र ६–४ को सोझो सेटमा जित निकालिन् ।

खेलका क्रममा निर्णायकमाथि सेरेनाले गालीगलौज गर्दै अभद्र व्यवहार गरेकी थिइन् । खेलका मुख्य निर्णायक कार्लोस रामोसमाथि गरेको गालीगलौजका कारण सेरेनामाथि जरिवानासमेत गरिएको छ ।

दोस्रो सेटबाट सुरु भएको त्यो विवादका कारण सेरेनाले कोर्टमै टेनिस ¥याकेट फाल्नुका साथै तोडफोड गरेकी थिइन् । उक्त सेट नाओमीले ६–४ ले आफ्नो पक्षमा पारेकी थिइन् । सेरेनाले मुख्य निर्णायकले आफूमाथि अन्याय गरेको आरोप लगाएकी छन् ।

खेल समाप्तिपश्चात् प्रतिक्रिया दिँदै ओसाकाले सेरेनाको चर्को आवाजले फ्लसिङ मिडोज एरिना नै गुञ्जायमान भए पनि आफूले खेललाई सामान्य ढंगबाट लिएको प्रतिक्रिया दिइन् । ‘मलाई अतिरिक्त अंक दिइएको थियो र यसबाट म केही असमन्जसमा परेकी थिएँ ।

तर, मैले खेलमै आफूलाई केन्द्रित गरिरहेको थिएँ । सेरेना कुनै पनि समयमा खेलमा फर्कन सक्ने सम्भावना मैले देखिरहेको थिएँ ।’ २४औँ ग्रान्डस्लाम जित्ने दाउमा रहेकी सेरेनाका लागि नाओमी बाधक बनेकी थिइन् । नाओमीलाई युएस ओपनको कप प्रदान गर्दा दर्शकदीर्घाबाट असन्तोषसमेत प्रकट भएको थियो ।

तर, ३६ वर्षीया सेरेनाले आफ्ना समर्थकलाई शान्त पार्दै भनिन्, ‘होइन, नाओमीले ज्यादै राम्रो खेलिन् । यो उनको पहिलो ग्रान्डस्लाम हो । हामी सबैले उनलाई सम्मान गर्नुपर्दछ ।’ सेरेनालाई आदर्श महिला मान्दै आएकी नाओमीले भनिन्, ‘युएस ओपनमा सेरेनासँग खेल्ने मेरो पनि सपना थियो । मैले आफूलाई अत्यन्त भाग्यमानी सम्झेकी छु ।’

सेरेनालाई हराएकी ओसाका जापानी आमा र हाइटियन बुवाकी छोरी हुन् । जापानमा जन्मिएकी उनी अमेरिकामा हुर्किएकी हुन् । जापानका प्रधानमन्त्री सिन्जो आबेले ट्विट गरेर ओसाकालाई बधाई दिएका छन् ।

हाल जापानलाई परेको कठिन समयमा उत्प्रेरणाको रूपमा यो जित आएको प्रधानमन्त्री आबेले बताएका छन् । जापानको उत्तरी क्षेत्रमा केही दिनअघि भूकम्प जाँदा २० जनाभन्दा बढीको ज्यान गएको थियो भने त्यसअघि दक्षिणी क्षेत्रमा जेबी आँधीले ठूलो क्षति गरेको थियो । जापानमा बेसबल, फुटबल र सुमो रेस्लिङ सहितका खेलभन्दा टेनिस कम चर्चित छ ।

तर, ओसाकाले ग्रान्डस्लाम उपाधि जित्दै टेनिसमा नयाँ सम्भावनाको ढोका खोलेको जापानी पत्रिकाहरूले उल्लेख गरेका छन् । जापानी पत्रिकाहरूले ओसाकालाई जापानले गर्व गर्न सक्ने नयाँ नायिकाको रूपमा प्रस्तुत गरेका छन् । ओसाका उपाधि लिने वेलामा रोएकी थिइन् ।

प्रतिक्रिया