विवादको झमेलामा कंगना

मुम्बई । बलिउड अभिनेत्री कंगना रनोट वेलावेलामा विवादमा आइरहने चर्चित कलाकार हुन् । उनी सन् २००६ मा ‘ग्याङस्टार’ बाट ठूलो पर्दामा प्रवेश गरेकी हुन् । एक दशक लामो यस यात्रामा उनी बारम्बार विवादमा तानिरहिन् ।

उनको पछिल्लो निर्माणाधीन चलचित्र ‘मणिकर्णिका–द क्विन अफ झाँसी’ को विवादले यतिवेला कंगनाको करिअरमा नै धक्का लाग्न थालेको छ । कंगनाको मुख्य भूमिका रहेको उक्त चलचित्र छायांकनकै क्रममा थुपै्रपटक विवादमा तानिएको थियो ।

विवादमा तानिएपछि निर्देशक कृष र अभिनेता सोनु सूद चलचित्रबाटै बाहिरिएका छन् । कंगनाका कारण उनीहरू चलचित्रबाट बाहिरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उक्त घटनापछि निर्देशक कृषले चलचित्रबाट हात झिकेपछि अभिनेत्री कंगना आफैँ निर्देशन गर्न अग्रसर भइन् । चलचित्रको निर्देशनको जिम्मेवारीसमेत सम्हाल्न थालेपछि कंगनाले आफ्नो भूमिका छोट्याइदिएको भन्दै अभिनेता सोनुले पनि चलचित्रबाट हात झिके ।
वेलावेलामा विवादमा तानिरहेर चर्चा कमाउन उनी निकै खप्पिस छन् । उनले एकपटक बलिउडका तीन खान, आमिर, सलमान र शाहरुखको

चलचित्र उद्योगमा काम आवश्यकता नभएको जनाएकी थिइन् । त्यस्तै, उनले चलचित्र निर्माता करण जौहरसँग पनि पौँठेजोरी खोजेर सम्बन्ध बिगारिसकेकी छन् ।

अहम्ताले बलिउडमा कंगनाको करिअरमा निकै प्रभाव पारिरहेको भारतीय चलचित्र बजारमा हल्ला चल्न थालेको छ । भारतीय चलचित्र विश्लेषक अर्नब बेनर्जी भन्छन्, ‘कंगनाको यस्तो रवैया बढ्दै गएमा उनी एकदिन अभिनय क्षेत्रमा एक्लिने छिन् ।’ त्यस्तै, केहीले भने कंगनाको करिअरबारे चिन्ता गरे पनि उनका हातमा धमाधम चलचित्र आइरहेका छन् । अहिले पनि उनीसँग ३–४ वटा चलचित्र हातमा छन् ।

कंगनाका बारेमा भारतीय चलचित्र निर्माता रमेश तौरानी भन्छन्, ‘विवादका विविध विषयले फिल्मका लागि कलाकार चयनमा गर्ने कार्यमा कुनै असर पर्दैन । यदि कोही कलाकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न सक्छ भने उसको स्टारडम र परिचय नै छनोटको आधार बन्छ ।’

कंगनाको पछिल्लो चलचित्र मणिकर्णिकाको विवादले भविष्य धरापमा परेको बताइए पनि विश्लेषक ब्रह्मात्मज भन्छन्, ‘अभिनेत्री कंगनाको जीवनमा ‘मणिकर्णिका’ निकै महत्वपूर्ण प्रोजेक्ट हो । यदि यो चलचित्र असफल भएको खण्डमा कंगना असफल सावित हुन्छिन् । तर, कुनै पनि स्टारको फिल्म हिट र फ्लप हुनु अस्वभाविक भने होइन । त्यसैले कंगनाको अभिनय यात्रा धरापमा छ भन्नु अहिलेको परिदृश्यमा सान्दर्भिक होइन ।’

प्रतिक्रिया