कृष्णले ल्याए ‘अप्रिल फुल’

काठमाडौं । सञ्चारकर्मी कृष्ण आर्चायद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक गरिएको छ । काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, ज्योति जंगली, गायक हेमन्त शर्मालगायतले संयुक्तरूपमा उक्त कृतिको विमोचन गरे ।

पुस्तकका बारेमा टिप्पणी गर्दै आख्यानकार धरावासीले भाषा, शैली र प्रस्तुतीकरणले आफूलाई तानेको धारणा व्यक्त गरे । उनले भने, ‘मैले थुप्रै पुस्तक पढ्दा–पढ्दै बीचैमा मिल्काएको छु । तर, अप्रिल फुल त्यस्तो छैन । यसमा समावेश विषयवस्तु र घटनाक्रमले पाठकलाई निकै प्रभाव पार्दै अन्त्यसम्म तान्दै लान्छ ।’

भावनात्मक रूपमा सरर बगेको र युवावस्थाको प्रेमपूर्ण भाव उपन्यासमा झल्किएको धरावासीले बताए । कार्यक्रममा गायक हेमन्त शर्माले उपन्यास आफूले सोचेभन्दा निकै उत्कृष्ट भएको भनाइ राखे । उनले भने, ‘बजारमा खुबै चलेका भनिएका उपन्यासभन्दा अप्रिल फुल कुनै कुरामा पनि कम छैन । यस कृतिमार्फत लेखकले आफ्नो बाटो कोरिसके । अब पछि फर्किएर हेर्नुपर्ने छैन ।’

उपन्यास समय सापेक्ष भएकाले सबैले मनपराउने कवि ज्योति जंगलले बताइन् । उनले भनिन्, ‘उपन्यासले वर्तमान समयको आवाज बोलेको छ । त्यसकारण यसले सजिलै पाठकको मन जित्न सक्छ ।’ उनले किशोर–किशोरीको प्रेम कथामा केन्द्रित रहेर उपन्यास लेखिए पनि आफ्ना छोराछोरीलाई बुझ्न आमा–बाबुले पनि अप्रिल फुल पढ्नुपर्ने जिकिर गरिन् । उनले थपिन्, ‘सामाजिक पक्ष, युवामा हुने पे्रमको आक्रोशका बारेमा कृतिमा समेटिएको छ ।’

लेखक आचार्यले उपन्यासमार्फत आफूले ‘रियालिटीलाई फिक्सनाइज’ गरेको बताए । ‘कृतिमा माया–प्रेमका विषय मात्रै नभएर समाज र सामाजिक विषयलाई समेत चित्रण गरिएको छ’, आचार्यले भने, ‘उपन्यासभित्र पाठकले आफू र आफ्नो सामाजिक परिवेश पाउनेछन् ।’

आफू एक पत्रकार भएर लेख्दै र देख्दै आएको सामाजिक समस्या र युवा प्रेमले निम्त्याएको परिणामलाई उपन्यासमा समेट्ने कोशिस गरेको लेखक उनले जोड दिए । उपन्यास युरिका प्रकाशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया