मनाइयो मोतीराम जयन्ती

काठमाडौं । नेपाली साहित्यमा विशिष्ट योगदान दिएका माध्यमिक कालका साहित्यकार तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३औँ जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । १९२३ साल भाद्र कृष्ण कुशेऔँसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशेऔँसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।

नेपाली साहित्यमा शृंगार रसमा कलम चलाएका युवाकवि मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । उनले नै नेपाली साहित्यमा पहिलोपटक भानुभक्तलाई चिनाउने काम गरेका हुन् । त्यस्तै नेपालमा छापाखाना भित्र्याउने श्रेयसमेत उनलाई जान्छ ।

भट्टका ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् ।

उनले भानुभक्तले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपिको खोजी १९४१ मा प्रकाशन गराएका थिए । नेपाली साहित्यमा पहिलो भूमिका लेखकको रूपमा समेत उनी चिनिन्छन् । यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिए ।

यसैबीच, आइतबार मोतीजयन्तीका अवसरमा रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) ले आयोजना गरेको १२औँ आशु कविता तथा वाचन प्रतियोगितामा एम्बिसन एकेडेमीकी अनुज्ञा नेपाल पहिलो भइन् ।

प्रतियोगितामा विनसम बोर्डिङ स्कुलका शीतल बानियाँ द्वितीय, अरुणिमा माविका शिशिर घिमिरे तृतीय तथा मनकामना माविकी नान्दवी लामिछाने र विपुल शिक्षा निकेतनकी हिमा खतिवडाले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विजयीलाई आख्यानकार भागीरथी श्रेष्ठले एक समारोहका बीच पुरस्कार प्रदान गरिन् । प्रतियोगितामा ४० विद्यार्थी सहभागी भएको रिम्सका प्रधानाध्यापक बालमुकुन्द कार्कीले जानकारी दिए ।

त्यस्तै, बागलुङ धवलागिरी साहित्य प्रतिष्ठान, सार्थक प्रकाशन, धवल कला मन्दिर र स्मृति प्रकाशन बागलुङले संयुक्तरुपमा आयोजना गरेको मोतीजयन्तीमा चार जना स्रष्टा सम्मानित भएका छन् । पर्वत अस्पतालमा कार्यरत डा. हेमादेवी छन्त्याललाई ‘सार्थक मोती सम्मान’ कलाकार सूर्यप्रसाद श्रेष्ठ ‘मिलन’ र इन्द्रकुमारी श्रेष्ठलाई ‘धवल मोती सम्मान’ र युवा स्रष्टा गंगा थापामगर ‘स्मृति युवा सम्मान–२०७५’ प्रदान गरिएको हो ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले उनीहरूलाई सम्मानपत्र र दोसल्ला प्रदान गरे ।

डा. छन्त्यालले पेसा र समाजप्रति थप उत्तरदायी बन्न सम्मानले प्रेरणा मिलेको बताए । कलाकारद्वय सूर्यप्रसाद र इन्द्रकुमारी श्रेष्ठ लामो समयदेखि भक्ति संगीतको गायन र वादन विधामा क्रियाशील छन् । बागलुङको काठेखोला गाउँपालिका–२ की थापामगर साहित्य सिर्जनामा सक्रिय छन् । उनको ०६५ सालमा ‘भत्किएका सपना’ गजल संग्रह र ०६७ सालमा ‘जीवनमृत्यु’ लघु तथा सामाजिक उपन्यास प्रकाशित भएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख पौडेलले समाजमा योगदान पु¥याउने व्यक्तित्वको पहिचान र कदर गर्नुपर्ने बताए । प्रतिष्ठानका अध्यक्ष काजी रोशनले वर्षेनी सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने जनाए । मोतीजयन्तीको अवसरमा दिइने ‘सार्थक मोती सम्मान’ र ‘धवल मोती सम्मान’ गत वर्षदेखि प्रदान गर्न थालिएको हो ।

स्मृति प्रकाशनले भने १० वर्ष अघिदेखि नै ४० वर्षमुनिका युवा स्रष्टालाई सम्मान गर्दै आएको छ । समारोहमा विभिन्न कवि, लेखकले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया