चितनवमा निजी क्षेत्रको तरकारी बजार

चितवन । व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले बजार स्थापना गरेका हुन् ।

भरतपुर महानगरपालिका– २ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिघा जग्गा भाडामा लिई व्यवसायीले आफ्नै लगानीमा १६ करोड लगानी गरी तरकारी बजार स्थापना गरेका हुन् । सो बजारमा २ सय १७ कक्ष रहेका छन् ।

फलफूल तथा तरकारी थोक व्यवसायी संघको सक्रियतामा ७५ व्यवसायीले कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार स्थापना गरेका हुन् । प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बजारभित्र सडक कालोपत्रबाहेक अन्य काम सम्पन्न भएको छ । अगामी असोज १ गतेदेखि बजार सञ्चालनमा आउनेछ । व्यावसायिक प्रयोजनका लागि २८, थोकका लागि १ सय ३७, खुद्रा व्यवसायका लागि ३८ तथा कृषकका लागि १४ सटर रहेका छन् ।

तरकारी बजारमा चिया खाजाका लागि दुई रेस्टुरेन्ट, शौचालय, पर्याप्त पार्किङ तथा खानेपानीको व्यवस्था छ । प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौंको कालीमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरूले निर्माण गरेको दाबी गरे ।

गत फागुनदेखि निर्माण थालिएको सो बजार छोटो अवधिमै सम्पन्न हुन लागेको छ । सो बजारमा चितवनसहित अन्य जिल्लाबाट तरकारी बिक्रीका लागि ल्याउने गरिएको छ । फलफूल तथा तरकारी व्यवसायी संघका जिल्ला अध्यक्षसमेत रहेका धितालका अनुसार जुम्ला, मुस्ताङलगायत जिल्लाबाट स्याउ ल्याउने गरिएको छ ।

सो बजारबाट दैनिक ६० टन तरकारी खरिद बिक्री हुँदै आएको छ । ७० प्रतिशत तरकारी बिक्रीका लागि काठमाडौंसहित, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देही लगायतका जिल्ला लगिन्छ । सो तरकारी बजारमा दैनिक एक करोडभन्दा बढीको कारोबार हुँदै आएको छ ।

प्रतिक्रिया