सहुलियत ऋणको ब्याजदर यथावत

काठमाडौं । भूकम्पपीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नहुने बताइएको छ ।

अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जापीडित सहजीकरण तथा समन्वय समितिका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री युवराज खतिवडाले विगतमा जुन सर्तमा ऋण उपलब्ध गराइएको हो त्यसलाई निरन्तरता दिइने बताए ।

नेपाल राष्ट्र बैंकमार्फत वाणिज्य बैंकलाई पत्राचार गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खतिवडाले पीडितले पनि नियमसंगत रूपमा कार्य पूरा गर्नुपर्नेमा जोड दिए ।

सांसद जीवनराम श्रेष्ठले पीडितले लिएको ऋणको ब्याजदर वृद्धि भए उनीहरूलाई थप पीडा हुने भन्दै पीडितलाई सरकारले विगतमा सुविधाका रूपमा उपलब्ध गराएको ऋणको ब्याजदर सम्झौता अवधिभर कायम गर्नुपर्ने बताए ।

भूकम्पपछि सरकारले विभिन्न वाणिज्य बैंकमार्फत काठमाडौं उपत्यकाभित्रका पीडितलाई उनीहरूको चल, अचल सम्पत्ति तथा आम्दानीको मूल्यांकन गरी १५ देखि २५ लाखसम्म ऋण ५ देखि १० वर्षभित्र दुई प्रतिशत ब्याजमा उपलब्ध गराएको थियो । उपत्यका बाहिरका पीडितलाई सोही ब्याजदरमा १५ लाखभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरिएको थियो । समितिका प्रतिनिधिले पुनः कर्जा नवीकरणमा पनि शुल्क मिनाहा गर्न माग गरेका थिए ।

प्रतिक्रिया