उत्तर कोरियाको वार्षिकोत्सव

प्योङयाङ । उत्तर कोरिया स्थापनाको ७०औँ वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रबेगर नै सैनिक ट्यांक र तोपसहित हजारौँ सैनिकले मार्चपास गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनियाँ राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता किमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए ।

दोस्रो विश्वयुद्ध समाप्त हुनै लाग्दा कोरियाली द्वीपलाई विभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए ।

२१ तोपको सलामीपश्चात् किम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौँ सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियारसहितको मार्चपासलाई नेता किमसहितका विशिष्ट व्यक्तिले रोस्ट्रमबाट अवलोकन गरेका थिए ।

नेता किमसँगै चिनियाँ प्रतिनिधि एवं चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए । उनीहरू दुवैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो ।

मार्चपासमा सैनिकवाहन, रकेट लन्चर्स र ट्याङ्कको लाइन अघि बढेको थियो । आकाशमा सैनिक विमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्र देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो ।

तर, मार्चपासमा गत वर्ष पहिलोपटक परीक्षण गरिएका संयुक्तराज्य अमेरिकासम्म मार हान्न सक्ने ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन ।

‘उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ,’ कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भने । सैनिक मार्चपास सकिएलगत्तै हजारौँ नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्डसहित रंगीविरंगी पहिरनमा प्रस्तुतीकरण गरेका थिए ।

अप्रिलमा किमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गरेका थिए । उनले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिएका थिए ।

प्रतिक्रिया