सिरियामा फेरि भीषण हमला

इडिलब । सिरिया र रुसले विद्रोही नियन्त्रित उत्तरी प्रान्त इडिलबमा केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको अधिकारकर्मीहरूले बताएका छन् ।

उनीहरूका अनुसार इडिलबका दक्षिणी भागका साथै हामा प्रान्तसँगको सीमावर्ती क्षेत्रलाई निशाना बनाइएको छ । इडिलब प्रान्त विद्रोही नियन्त्रित अन्तिम महत्वपूर्ण क्षेत्र हो र रुसको सहयोगमा सिरियाली सरकारी फौजले त्यहाँ हमला गरेका हुन् ।

यसअघि रुस र इरानले मानवीय संकट उत्पन्न हुनसक्ने त्रासका बीच संघर्षविराम गर्नुपर्ने आग्रह शुक्रबार अस्वीकार गरेका थिए । ब्रिटेनमा अवस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र विपक्षी सम्बद्ध इडिलब मिडिया सेन्टरले शनिबार बताएअनुसार सरकारी फौजका हेलिकोप्टरहरूले इडिलब र उत्तरी हामामा १९ वटा ब्यारेल बम खसालेका थिए ।

त्यस्तै, रुसी लडाकु विमानले ६८ वटा हवाई हमला गरेको उनीहरूले बताएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार १० अगस्ट यताकै’ सबैभन्दा हिंसात्मक र भीषण’ हमलाहरू गरिएका छन् ।

दक्षिणी इडिलबमा मात्रै दुईजना बालबालिकासहित नौजना सर्वसाधारणको ज्यान गएको सो संगठनले जनाएको छ । इडिलब किन महत्वपूर्ण छ भन्नुपर्दा सिरियाली सरकारविरुद्ध विगत सात वर्षदेखि लडिरहेका विद्रोही र जिहादीहरूको बलियो पकड भएको त्यो अन्तिम क्षेत्र हो ।

इडिलब सिरियाका महत्वपूर्ण राजमार्गहरूसँग जोडिएको छ र सरकारले त्यसलाई पुनः नियन्त्रणमा लिए केही छरपस्ट क्षेत्रमा विद्रोहीहरू सीमित हुन पुग्नेछन् । उक्त प्रान्तमा कुनै एउटा समूहको मात्र नभई कैयौँ समूहहरूको नियन्त्रण रहेको बताइन्छ ।

त्यसमा अल–कायदा सम्बद्ध जिहादी समूहहरू र टर्की समर्थित नेसनल लिबरेसन फ्रन्टका प्रतिद्वन्द्वी समूहलगायत छन् ।

प्रतिक्रिया