३५ करोडको आलु उत्पादन

सल्यान । जिल्लामा आव ०७४-७५ मा ३५ करोडको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानले दिएको जानकारीअनुसार वर्षे र हिउँदे गरी करिब ३५ करोड बराबरको आलु उत्पादन भएको हो । १ हजार ७ सय ६५ हेक्टर क्षेत्रफलमा हिउँदे आलु र ४ सय ३ हेक्टर क्षेत्रफलमा वर्षे आलु खेती गरिएको थियो ।

कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा आव ०७४-७५ मा ३५ करोड ३९ लाख २५ हजार बराबरको आलु उत्पादन भएको छ । यस आवको हिँउदमा १६ हजार ३ सय १५ मेट्रिक टन आलु उत्पादन भयो । र वर्षे अवधिमा ३ हजार ६ सय ४० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले बताए ।

‘आव ०७४-७५ मा हिउँदे र वर्षे गरी १९ हजार ९ सय ५५ मेट्रिक टन आलु उत्पादन भएको छ,’ वरिष्ठ कृषि विकास अधिकृत शर्माले भने, ‘औसतमा हिउँदे आलु प्रतिकेजी १५ र वर्षे आलु प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री भएको हो ।’ जिल्लाको वाँफुखोला, कोटमौला, ढाकाडाम, कोटबारा लगायतका क्षेत्रमा अत्यधिक मात्रामा किसानहरूले आलु खेती गर्दै आएका छन् ।

वाँफुखोलामा मात्रै ११ करोडको आलु

जिल्लाको बागचौर नगरपालिका–१२ वाँफुखोलाका किसानहरूले यसवर्ष आलु बेचेर ११ करोड बढी रकम भित्र्याउन सफल भएका छन् । झन्डै ८० हेक्टर क्षेत्रफलमा यहाँका किसानले आलु खेती गर्दै आएका छन् । ‘व्यावसायिक आलु खेतीमा लागेपछि जीवनस्तर फेरिएको छ’, स्थानीय कृषक डिल्ली ओलीले भने, ‘यस वर्ष मैले मात्रै ४० क्विन्टल आलु उत्पादन गरेर सात लाख रुपैयाँ कमाएँ ।’ विगतमा आलु उत्पादन भए पनि बजारको ठूलो समस्या हुने गरेको भए पनि अहिले व्यापारीहरू खेतबारीमै आइपुग्छन् उनले भने ।

केही वर्ष अघिसम्म परिवार पाल्नका लागि पैसा कमाउन भारतमा जान बाध्य भए पनि आलु खेतीले घरमै रोजगारी पाएको उनले बताए । करिब एक हजार घरधुरी रहेको वाँफुखोलामा ८० प्रतिशत किसान व्यावसायिक आलु खेतीमा लागेका छन् ।

आलु खेतीबाट वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्दै आएको स्थानीय कोमल ओलीको भनाइ छ । ‘व्यावसायिक रूपमा आलु खेती गरेदेखि आम्दानी पनि राम्रै हुन थाल्यो’, उनले भने, ‘अहिले घर खर्च चलाउन र बालबालिकालाई पढाउनसमेत सजिलो भएको छ ।’ यहाँका स्थानीयले अन्न उत्पादन कम हुने भएकाले आलु खेतीलाई प्राथमिकता दिएका छन् ।

बजार आफैँ खेतमा आइपुग्छ

खेतबारीमै आएर खरिदकर्ताले आलु लिएर जाने गरेकाले बजारको समस्या नभएको वागचौर नगरपालिका–१२ का स्थानीय दुर्गा वलीले बताए । ‘पहिलेपहिले बाटो नहुँदा धेरै आलु कुहिएर खेर जाने समस्या थियो अहिले त खरिदकर्ता गाउँमै आएर प्रतिकिलो २२ देखि २४ रुपैयाँसम्ममा खरिद गरेका छन्’, उनले भने । यसरी व्यापारी घरमै आएर आलु खरिद गर्ने गरेको बताउँदै उनले खुसी हुँदै भने, ‘अहिले त आलु बजार लैजानुपर्दैन, बजार आफैँ खेतमा आइपुग्छ ।’

केही समय अघिसम्म आलुसँग चामल साटेर गुजारा गर्ने गरेको भन्दै उनले अहिले गाउँमा मोटरबाटो पुगेपछि नगदमै कारोबार हुने जनाए । जिल्लामा उत्पादित आलु सबैभन्दा बढी पोखरा जाने गरेको छ । ‘देशका प्रायः सबै प्रमुख सहरहरूमा सल्यानको आलु पुग्छ’, जिल्ला कृषि विकास कार्यालयका प्रमुख अमरराज शर्माले भने, ‘बजारको समस्या छैन उत्पादित आलु खेतमै पुगेर किन्ने चलन सुरु भएको छ ।’

सस्तोमै बेच्न बाध्य

आलुको प्रचुर मात्रामा उत्पादन हुने गरेको भए पनि भण्डारणको उचित प्रबन्ध नहुँदा किसानहरूले सोचेअनुसारको आम्दानी पाउन सकेका छैनन् । आलु उत्पादनबाट राम्रो आम्दानी भए पनि भण्डारणमा समस्या भएको स्थानीय दीपक ओलीले बताए । ‘भण्डारणका लागि व्यवस्थित भवन नहुँदा परम्परागत रूपमै भण्डारण गर्ने गरिएको छ’, उनले भने, ‘अहिले हामी १५÷२० रुपैयाँमा आलु बेच्छौँ पछि मंसिरमा हामीले नै आलु किनेर खानुपर्छ ।’

भण्डारणको उचित व्यवस्थापन गर्नसकेमा पछि महँगोमा बेचेर किसानले मनग्गे फाइदा लिनसक्ने उनले बताए । किसानहरूका लागि आलु चिस्यान केन्द्र अथवा भण्डारणका लागि सरकारले उचित व्यवस्था गरेमा वाँफुखोलालाई आलु जोनको रूपमा विकास गर्न सकिने उनले बताए ।

प्रतिक्रिया