कामै नगरी भुक्तानी दिँदै पाँचखपन

संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिकाले कामै नगरी बिल पेस गरेको आधारमा रकम भुक्तानी गरेको पाइएको छ । योजनाको अनुगमन नै नगरी समितिले बिल पेस गरेकै भरमा नगरपालिकाले रकम भुक्तानी गरेको पाइएको हो । वडा नं. ५ मा सातपत्रे कुलो भत्किएपछि पाइप खरिद गरिएको भन्दै बिल पेस गरेपछि नगरपालिकाले भुक्तानी दिएको हो ।

कुलो भत्किएको स्थानमा १ सय ६० एमएमको ६० मिटर पाइप खरिद गरिएको र काम सम्पन्न भएको भन्दै कुलो मर्मतका अध्यक्ष मानसिंह पोख्रेलले ५५ हजार रुपैयाँको बिल पेस गरेका थिए ।

करकट्टीसहित नगरपालिकाले विपद व्यवस्थापन शीर्षकमार्फत ४० हजार ७ सय ३७ रुपैयाँ रकम भुक्तानीसमेत गरिसकेको छ । पोख्रेलले चैनपुर नगरपालिका–६ मा रहेको आसिका स्टोर्सबाट पाइप खरिद गरेको तीन ओटा बिलमा १ सय १० एमएमको ६० मिटर पाइप र चार बोरा सिमेन्ट खरिद गरेको बिल पेस गरेका थिए ।

तर, पोख्रेलले भने उक्त बिलअनुसारको सामग्री खरिद गरेका छैनन् । पोख्रेलको भनाइअनुसार आर्थिक वर्ष अन्तिम हुन लागेकाले हिसाब मिलाउन आसिका स्टोर्सबाट बिल लिएको बताए । स्टोर्समा १ सय ६० एमएमको पाइप नभएको र गाउँमा रहेको पुरानो पाइप खरिद गर्ने भनी हिसाब मिलानका लागि बिल लिएको पोख्रेले स्वीकारे ।

तर, आसिका स्टोर्सले पोख्रेलले बिलअनुसार पाइप लगेको दाबी गरेको छ । नगरले कुनै पनि योजनाको अनुगमन नगरी योजना फरक–फरक र रकम भुक्तानी गर्न नपाइने भए पनि यसमा अनुगमन नगरी नै भुक्तानी गरिएको देखिएको छ उपप्रमुखको संयोजकत्वमा रहेको अनुगमन समितिमा सबै वडाका वडाध्यक्ष समितिका सदस्य हुन्छन् । तर, यस विषयमा वडाध्यक्ष रामबहादुर तामाङले अनुगमन नगरिएको बताए ।

आर्थिक वर्ष अन्त्यको हतारोले अनुगमन गर्न नभ्याएको अध्यक्षले बताए । नगरपालिकाले विपद् व्यवस्थापन शीर्षकबाट रकम भुक्तानी गरेको नगरप्रमुख विपिन राईले बताए । यो आर्थिक वर्षमा समेत नगरपालिकाबाट उक्त कुलो मर्मतका लागि दुई लाख रकम विनियोजन भएको छ ।

प्रतिक्रिया