ब्राजिल र अर्जेन्टिनाको जित

एजेन्सी ।  न्युयोर्क अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल, उरुग्वे र अर्जेन्टिना विजयी भएका छन् । ब्राजिलले अमेरिकामाथि २–० को सहज जित निकालेको हो । ब्राजिलको जितमा कप्तान नेयमार र फिर्मिनोले गोल गरे ।

दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । न्यु जर्सीमा शनिबार बिहान भएको खेलमा ब्राजिलले रोबर्टो फिर्मिनोको गोलबाट अग्रता बनाएको थियो । फिर्मिनोले डुगलस कोस्टाको क्रस पासमा पोस्ट नजिकैबाट गोल गरेका थिए ।

घरेलु टोलीलाई दबाबमा राखे पनि ब्राजिलले त्यसपछि गोल गर्न ४३औँ मिनेट कुर्नुपरेको थियो । स्टेफनले पेनाल्टी बक्समा नेयमारलाई लडाएपछि ब्राजिलले पेनाल्टीको मौका पाएको थियो । जसमा नेयमारले गोल गरेका हुन् । पहिलो हाफमा २–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।

यता घरेलु टोलीले गोलका केही मौकाहरू खेर फाल्दा २–० ले पराजित हुन पुग्यो । शनिबार बिहान नै भएको अर्को मैत्रीपूर्ण खेलमा कोलम्बियाले भेनेजुएलामाथि २–१ को जित निकाल्यो ।

कोलम्बियाले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । कोलम्बियाको जितमा राडामेल फल्काओ र यिम्मी चाराले गोल गरे । भेनेजुएलाका डार्विन मेचिसले गोल गरे । बराबरीतर्फ धकेलिएको खेलको इन्जुरी समयमा यिम्मी चाराले गोल गर्दै कोलम्बियालाई २–१ को जित दिलाएका थिए ।

यस्तै, बार्सिलोनाका स्टार फरवार्ड लुइस सुआरेजको दुई गोलको मद्दतसँगै उरुग्वेले मेक्सिकोलाई ४—१ गोलले पराजित गरेको छ । उरुग्वेले २१औँ मिनेटमा अग्रता लिएको थियो । जोसे मारिया जिमिनेजको गोलमा अग्रता लिए पनि चार मिनेटपछि मेक्सिकोले खेल बराबरीमा ल्यायो । मेक्सिकोका लागि राउल जिमिनेजले पेनाल्टीमा गोल गरे ।

तर, सुआरेजले ९ मिनेटको अन्तरमा दुई गोल गर्दै नतिजा उरुग्वेको पक्षमा ल्याए । खेलको ‘म्यान अफ द म्याच’ चुनिएका सुआरेजले ३१औँ मिनेटमा अग्रता दिलाए । ४०औँ मिनेटमा उनले पेनाल्टीमा चिप गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

उरुग्वेका लागि गास्टोन पिएरोले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् । ७४औँ मिनेटमा राउलले प्रहार गरेको दोस्रो पेनाल्टी उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराले बचाए ।

यसैगरी, नियमित कप्तान लिओनेल मेसीबिना विश्वकपपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले ग्वाटेमालालाई ३—० ले पराजित गरेको छ । अर्जेन्टिनाले खेलको २७औँ मिनेटमा गोञ्जालो मार्टीनेजको पेनाल्टी गोलको मद्दतले अग्रता लिएको थियो ।

त्यसको ८ मिनेटपछि जिओभानी लो सेल्सोले २५ मिटर टाढाबाट भलीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । राष्ट्रिय टोलीबाट डेब्यु गरिरहेका जिओभानी सिमिओनिले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अर्जेन्टिनालाई ३—० ले अगाडि बढाए । उनी एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनिका छोरा हुन् ।

प्रतिक्रिया