जोकोभिच र डेल पोत्रो भिड्दै

न्युयोर्क । नोभाक जोकोभिच र आन मार्टिन डेल पोत्रो युएस ओपन टेनिसको उपाधिका लागि भिड्ने भएका छन् । न्युयोर्कमा भएको सेमिफाइनलमा जापानका केई निशिकोरीलाई सोझो सेटमा पराजित गर्दै सर्बियाका जोकोभिचले फाइनल यात्रा तय गरेका हुन् ।

उनी पिट सामप्रासको १४औँ ग्रान्डस्लाम उपाधि जित्ने रेकर्डसँग बराबरी गर्ने सम्भावना नजिक पुगेका छन् । जोकोभिकले अहिलेसम्म १३औँ पटक ग्रान्डस्लाम उपाधि जितेका छन् । छैटौँ बरियताका जोकोभिचले २१औँ वरियताका निशिकोरीलाई ६–३, ६–४ र ६–२ को सेटमा पराजित गरेका हुन । उनले अब फाइनलमा अर्जेन्टिनाका डेल पोत्रोसँग प्रतिस्पर्धा गर्नेछन् ।

साविक विजेता राफेल नाडाल चोटका कारण सेमिफाइनलबाटै बाहिरिन बाध्य भएपछि पोत्रो फाइनलमा प्रवेश गरेका हुन् । विश्व नम्बर एक स्पेनिस नाडालले दोस्रो सेटमा घुँडाको समस्याका कारण प्रतियोगिताबाट बाहिरिने निर्णय लिए । तेस्रो वरियताका पोत्रोले ७–६ (७–३) र ६–२ को अग्रता लिएको अवस्थामा नाडालले प्रतियोगिताबाट बाहिने निर्णय गरेका हुन् ।

३२ वर्षका नाडालले प्रतियोगिता छोड्ने निर्णय गर्नु पूर्व दुईपटक मेडिकल सहयोग लिएका थिए । नाडालले भने, ‘खेलिरहन मलाई निकै कठिन भइरहेको थियो, पीडा निकै भयो र यो टेनिस खेलजस्तो नै भएन ।’ पोत्रोले ९ वर्षपछि ग्रान्डसलामको फाइलन खेल्न लागेका छन् । उनले सन २००९ मा युएस ओपन टेनिसको उपाधि जितेका थिए ।

प्रतिक्रिया