पाटेकरमाथि यौन दुव्र्यवहारको आरोप

मुम्बई । बलिउडका पाका अभिनेता नाना पाटेकारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । पाटेकरले आफूलाई एक चलचित्रको सुटिङका क्रममा यौन दुव्र्यवहार गरेको अभिनेत्री तनुश्री दत्ताले खुलासा गरेकी छन् ।

उनले आरोप लगाउँदै भनिन्, ‘सुटिङ सेटमा म डान्स अभ्यास गरिरहेकी थिएँ । नाना आए र मलाई च्याप्प पाखुरामा समातेर आफूतिर टाँसे । त्यसपछि भने कि म तिमीलाई डान्स सिकाउँछु । म डराएँ र कुदेर भ्यानिटी भ्यानमा गएँ । त्यहाँ मेरी आमा हुनुहुन्थ्यो । उहाँलाई मैले सुनाएँ । त्यसपछि आमा र म भएर सुटिङस्पटमै हंगामा गर्यौँ । पछि नानाले माफी मागे ।’

अभिनेता पाटेकरले माफी मागेपछि उक्त घटनालाई गुपचुप राख्ने दुई पक्षबीच सहमति भएको तनुश्रीले खुलासा गरिन् । उनले भनिन्, ‘त्यसपछि मैले पाटेकारसँग कहिल्यै काम नगर्ने निधो गरँे ।’

बारम्बार विवादमा आउने अभिनेत्री तनुश्रीले भारतमा त्यत्ति धेरै चलचित्रमा काम गरेकी छैनन् । हातमा काम नभएपछि चर्चामा आउन उनले उक्त विषयलाई उरालेको भारतीय अखबारले चर्चा गरेका छन् । उनी अब बिग बोसको नयाँ सिजनमा देखिँदै छिन् । यो सिजनमा उनी आफैँ बहिनीसँगै सहभागी हुने भएकी छन् ।

त्यस्तै, भारतीय चलचित्र जगतमा पाटेकारलाई धेरैले सम्मान गर्छन् । तैपनि उनी बेलाबेलामा विवादमा आइरहन्छन् । विवाहित र छोराछोरीका बाबु भएर पनि उनले विभिन्न अभिनेत्रीसँग चलाएको अफेयर बलिउडमा गसिपको विषय बन्ने गर्छ । एकताका उनीसँग अभिनेत्री मनीषा कोइरालासँग अफेयरको चर्चा भारतमा मात्र नभई नेपालमा समेत खुबै चलेको थियो ।

प्रतिक्रिया