कलामा चुकेको ‘रामकहानी’

काठमाडौं । वैदेशिक रोजगारी र प्रेमकथामा आधारित चलचित्र ‘रामकहानी’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । चलचित्रले सुरुमै आक्रामक व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

काठमाडौंलगायत देशभर नै चलचित्रले निकै व्यापार गर्न सफल भएको वितरक सुनिल मानन्धरले जिकिर गरेका छन् । उनका अनुसार शुक्रबार चलचित्रले ४० लाखको व्यापार गरेको र शनिबार दर्शकको उच्च साथ पाएको छ । मानन्धरले काठमाडांैका सिंगल थिएटर हाउसफुल र मल्टिप्लेक्समा ८० देखि ९० प्रतिशतको अकुपेन्सी देखिएको बताए ।

यसैक्रममा निर्देशक सुदर्शन थापासहित अभिनेत्री तथा निर्मात्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ, कलाकार जितु नेपाल, केदार घिमिरे विभिन्न हलमा पुगेका थिए । अभिनेत्री पूजाले दर्शकले चलचित्रलाई साथ दिएको प्रतिक्रिया दिइन् । मोफसलका पोखरा, चितवन, विर्तामोड, बुटवल, धरान, इटहरी, दमक लगायतका सहरमा समेत चलचित्रले आक्रामक व्यापार गरेको वितरक कम्पनी एफडीले बताएको छ ।

चलचित्रमा आकाश, पूजा, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्र प्रेमकथा आधारित रहे पनि केही दृश्यले हररको झल्कोसमेत दिन्छ । वैदेशिक रोजगारीमा गएका चारजना युवाले जेलसजाय पाएको कथाबाट चलचित्र प्रारम्भ हुन्छ । विनाकसुर उनीहरू जेल परेका हुन्छन् ।

जेलमा उनीहरूको दैनिकी हासीमजाक गरेरै बित्छ । जेलमा परेकामध्ये राम अर्थात् (अभिनेता आकाश श्रेष्ठ) उदास र गम्भीर छन् । साथीभाइले गरेको हासीमजाकमा उनको कुनै चासो नै हुँदैन । उनी आफूले गाउँमा छोडेकी प्रेमिका माया अर्थात् (अभिनेत्री पूजा शर्मा) को सम्झनाले निकै सताएपछि विछिप्त बन्छन् ।

उनको मायासँग ट्रेकिङगाइडको काम गर्दा प्रेमसम्बन्ध गाँसिएको थियो । राम आफ्ना बुबाको करकापले वैदेशिक रोजगारमा आउन बाध्य हुन्छन् । विदेशमा आए पनि उनलाई मायाको मायाले सताइरहन्छ ।

२ घण्टा १० मिनेटको यस चलचित्रमा जेलमा कोचिएका चार युवालाई मरुभूमिमा लगेर गोली हानी मार्ने तयारी हुन्छ । उनीहरूलाई गाडीमा कोचेर मरुभूमितिर लगिन्छ । तर, उनीहरू त्यहाँबाट उम्किएर स्वदेश फर्किन्छन् ।

चलचित्रमा कला पक्षमा निर्देशक थापाले खासै ध्यान दिएको पाइँदैन । निर्देशक कथाको वरिपरि घुमे पनि त्यसको कला पक्षमा ध्यान दिन नसक्दा चलचित्र खल्लो महसुस हुन्छ । वैदेशिक रोजगारीमा गएका पात्रको पारिवारिक अवस्था र उनीहरूको वर्गलाई आइरन लगाइदिँदा चलचित्र नुन नआएको खल्लो दालजस्तो बन्न पुगेको छ । नेपाली सिनेजगतमा कहलिएका निर्देशक थापाले आफूलाई दमदार रूपमा उभ्याउन सकेका छैनन् ।

प्रारम्भमा चलचित्रले लिएको गति निकै रोमाञ्चक भए पनि पछि त्यो बरालिँदै दिशाहीन बन्न पुगेको छ । त्यस्तै चलचित्रमा संवाद, घटनाक्रम, गेटअप, पृष्ठभूमि तथा परिवेशबीच सामञ्जस्यता ल्याउन निर्देशकले सकेका छैनन् । उनले नेपाली समाजको आधारभूत संरचनालाई चलचित्रमा छुट्याउन नसक्दा कताकता खल्लो अनुभूति महसुस हुन्छ ।

हास्यकलाकार कलाकार केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झाले दर्शकलाई हसाउनुका साथै रोचक र घोचक रूपमा दर्शकलाई प्रभावमा पार्न सफल देखिन्छन् ।

त्यस्तै, हलमा रामकहानीसँगै रोज पनि प्रदर्शनमा आएको छ । यी चलचित्र तँछाड–मछाड गर्दै हलमा लाग्नुअघि प्रचारप्रसारकै क्रममा टकराव सुरु भएको थियो । चलचित्र रोजको टिमले रामकहानीको टिमलाई आफ्नो फिल्मसँग नियतवश चलचित्र जुधाएको आरोप लगाएको छ ।

प्रतिक्रिया