अलिबाबाका प्रमुखले राजीनामा दिँदै

बेइजिङ । चीनका सबैभन्दा धनीमध्येका एक ज्याक माले ई–कमर्स कम्पनी अलिबाबाको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिन लागेको ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ ।

उनी अलिबाबाको ‘बोर्ड अफ डिरेक्टर्स’ मा चाहिँ रहिरहने छन् । तर, शिक्षा क्षेत्रमा परोपकारका काममा ध्यान केन्द्रित गर्ने सो पत्रिकाले जनाएको छ । माले सन् १९९९ मा अलिबाबाको स्थापना गरेका थिए । र, त्यो अहिले विश्वका ठूला इन्टरनेट कम्पनीमा पर्दछ ।

अलिबाबाको अहिलेको बजार मूल्य ४ सय अर्ब डलर रहेको बताइन्छ । सो कम्पनीले अनलाइन बिक्री, चलचित्रको निर्माण र ‘क्लाउड कम्प्युटिङ’ गर्दछ । द टाइम्स पत्रिकासँगको एउटा अन्तर्वार्तामा माले अवकाश एउटा युगको अन्त्य नभई एउटा युगको सुरुआत हुने बताएका थिए ।

उनले थपे, ‘म शिक्षालाई माया गर्छु ।’ सोमबार ५४ वर्ष पुग्न लागेका माको ४० अर्ब डलर बराबरको सम्पत्ति छ । फोब्र्सले प्रकाशित गरेको सन् २०१७ को चिनियाँ धनीहरूको सूचीका अनुसार उनी तेस्रा सबैभन्दा धनी व्यक्ति हुन् ।

यसै हप्ताको सुरुतिर माले माइक्रोसफ्टका मालिक बिल गेट्सको अनुशरण गर्दै आफूले पनि एउटा निजी संस्था खोल्न चाहेको ब्लुमबर्ग टेलिभिजनलाई बताएका थिए । ‘बिल गेट्सबाट मैले सिक्नुपर्ने धेरै कुरा छन्, म धनीजस्तो कहिल्यै हुन सक्दिनँ । तर, चाँडै राजीनामा दिएर मैले एउटा राम्रो कुरा गर्न सक्छु ।’

‘मलाई लाग्छ, कुनै दिन, छिट्टै म फेरि स्कुलमा पढाउन जानेछु । अलिबाबाका प्रमुख कार्यकारी अधिकृत भइरहनुभन्दा मैले गर्न सक्ने अझ राम्रो काम त्यही हुन सक्छ ।’ पूर्वी चीनको जाङ्गजो सहरस्थित एउटा विश्वविद्यालयबाट माले अध्यापन पेसा सुरु गरेका थिए । साथीहरूसँग मिलेर आफ्नै फ्ल्याटबाट उनले अलिबाबाको सुरुआत गरेका थिए ।

प्रतिक्रिया