प्रदेश सरकारले सुनेन गुनासो

कालीकोट । कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने गगने खोला र सुनार खोलाले यात्रुहरूको दैनिकी कष्टकर बनाएको छ । लगातारको वर्षापछि कालीकोटको सुनारखोलामा थप निकै जोखिम बढेको छ । माथिबाट झरेको सानो पहिरोका कारण सुनार खोलामा दैनिक यातायातका साधनहरू अवरोध हुँदै आएका छन् ।

कालीकोटको सदरमुकामसमेत रहेको मान्मको सुनारखोलाका कारणले कुनै पनि यात्रुहरू समयमा घर पुग्न पाउँदैनन् । घरमा पूजा भएकाले ८० हजारमा गाडी रिजर्ब गरेर सुर्खेतबाट मुगु जान लागेका एकै गाउँका १८ जना यात्रु दुई दिनसम्म सुनार खोलाको पहिरोका कारण रोकिनुप¥यो ।

उनीहरूको घरमा हुने पूजाको मिति टरेपछि गाडीले पहिरो छिचोलेर अगाडि बढ्यो । ‘यस्तो समस्या होला भनेर थाहा पाएको भए ८० हजारमा गाडी रिजर्ब गरी आउने थिइन् ।’ मुगु रारा झ्यारीका सूर्य रावलले बताए ।

सूर्य रावलजस्तै हजारौँ यात्रुलाई सुनार खोलाले सास्ती दिएको छ । जिल्ला ट्राफिक कार्यालय कालीकोटले बाटो खुलाउन निकै प्रयास गरिरहेको छ । तर, निरन्तर पहिरो बग्ने र बाटो हिलाम्मे हुने गरेकाले नसकिएको ट्राफिक इन्चार्ज नन्दाराम जैसीले बताए । पानी रोकिए पनि हिलाम्मे बाटो भएकाले एउटा गाडी पास हुन ३ घण्टा लाग्ने गरेको ट्राफिक इन्चार्ज जैसीले सुनाए ।

बाटो अवरोध भएको र बनाउन कसैले चासो नदिएको खबर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हटलाइन नम्बरसम्म पनि पुगेको थियो । तर, खबर भएको दुई दिनपछि जुम्ला र कालीकोटका प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन कार्यालयको नम्बर पाऊँ भन्दै गुनासो गर्ने व्यक्तिको नम्बरमा फोन आयो ।

प्रदेश सरकारलाई प्रत्यक्ष राखेको गुनासोले पनि सुनार खोलाको बाटो बनाउने काम नभएपछि यस क्षेत्रका नागरिकहरू निकै चिन्तामा परेका छन् । एउटा प्रदेश सरकारसँग जिल्लाका प्रमुखको नम्बर नहुनु र सडकको ठेक्का लिएको कार्यालयको पनि नम्बर नहुनु कतिसम्मको लापरबाही हो भन्दै यात्रुहरू आक्रोशितसमेत भएका छन् ।

प्रतिक्रिया